आर्मी आहा! रारा गोल्डकपको फाइनलमा
पोखरा । पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको लागि त्रिभुवन आर्मी र थ्रीस्टार क्लब भिड्ने भएका छन् । पोखरा रंगशालामा विहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मीले ए डिभिजन लिग विजेता क्लब चर्च ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
थ्रीस्टारले भने वुधबार नै जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेर फाइनलमा पुगेको थियो ।
विहीबार निर्धारित समय एक एक गोलको बराबरीमा सकिए पछि खेल अतिरिक्त समयमा पुगेको थियो । थप गरिएको ३० मिनेटमा आर्मीले अरु एक गोल थपेपछि अन्ततः २–१ को जित निकाल्दै फाइनलमा स्थान पक्का गर्न सफल भयो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्मीले नै सुरुआती अग्रता लिएको थियो । ६१ औं मिनेटमा आर्मीका दिनेश हेन्जनले गोल गर्दै अग्रता दिलाएका थिए । तर, ८५ औं मिनेटमा चर्च ब्वाइजले बराबरी गोल गरेका थिए । चर्च ब्वाइज्का समिर तामाङले गोल गरेपछि निर्धारित समय एक एक गोलको बराबरीमा टुंग्एिको थियो ।
त्यसपछि थप गरिएको ३० मिनेटमा आर्मीले बाजी मार्न सफल भयो । आर्मीका रशबहादुर मगरले ९९ औं मिनेटमा निर्णायक गोल गर्दै फाइनलमा थ्रीस्टारसँगको भेट पक्का गराए । आर्मी र थ्रीस्टारले २०७५ सालको उपाधि भिडन्त गरेका थिए । जसमा थ्रीस्टारले बाजी मारेको थियो ।