ल्यानक्यास्टरमा सरस्वती पूजा फेब्रुअरी १० शनिवार
ल्यानक्यास्टर/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टर सरस्वती पूजा फेब्रुअरी १० तारिख शनिवार गरिने भएको छ।
ल्यानक्यास्टर निवासी ओम घिमिरेका अनुसार तिथि अनुसारको सरस्वती पूजाको दिन विद्यार्थीहरू नियमित स्कुल जानु पर्ने भएकाले शनिवार कार्यक्रम आयोजन गर्न लागिएको हो।
‘पात्रो अनुसार त सबैले घर घरमा पूजा गरेर आ आफ्नो स्कुल जाने हुनाले हामीले सबैको बिदाको दिन सामूहिक रूपमा सरस्वती पूजाको आयोजना गरेका हौ ।’ समाज टाइम्स सँग घिमिरेले भने।
उनले कुनै संघ संस्था भन्दा पनि ल्यानक्यास्टरमा बस्ने सबै नेपाली र नेपाली भाषी भुटानी समुदायका लागि कार्यक्रम आयोजना गरिएको बताए।
घिमिरेका अनुसार शनिवार बिहान साँढे नौ बजेबाट फ्रुटभिल पाइकमा (1361 Fruitville pike Lancaster, PA 17601) रहेको हलमा पूजा सुरु हुने छ।
पूजामा हेम धिताल,डेगनाथ तिमिल्सिना,नन्दलाल नेपाल, डिल्ली तिमिल्सिना लगायत गुरुहरूको उपस्थिति रहने छ।
हेम गुरुबाट पूजा विशेष जानकारी, प्रार्थना, वन्दनाको प्रस्तुति रविरुद्र रहने छ।
यस्तै बालबालिकालाई अक्षर लेख्न वा पढ्न पनि सुरु गराइने छ। पूजाको अवसरमा साना बालबालिकाहरूबाट सरस्वती वन्दना, भजन, नृत्य र विशेष बाजाको प्रस्तुति पनि राखिएको छ।
विद्याकी देवी सरस्वतीका बारेमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा बताइने छ। पूजाको अन्तमा आरती र प्रसाद वितरण राखिएको छ।