सन्दीप लामिछाने उच्च अदालत जाने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कारविरुद्धको मुद्दामा उच्च अदालत जाने भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले पुस २५ गते सुनाएको फैसलाको पूर्णपाठमा कमजोर आर्थिक अवस्था भएकी गौशाला–२६ लाई सन्दीपले पटकपटक फोन सम्पर्क गरेको र आफ्नो ख्यातिको दुरूपयोग गर्दै बलात्कार गरेको उल्लेख गरेको जनाइएको छ । तर, अदालतले अहिलेसम्म फैसलाको पूर्णपाठ भने अझै वेभसाइट अपलोड भएको छैन ।
नाता र प्रेम सम्बन्ध नदेखिएको, पहिला पनि भेट नभएको र सन्दीप आफैंले धेरैपटक सम्पर्क गर्नु, क्लोज क्याम्पमा रहेको र भोलिपल्ट विदेश जान लागेको अवस्थामा पीडितलाई होटलमा लिएर जानुलाई अदालतले फैसलामा उल्लेख गरेको जनाइएको छ ।
सन्दीपका कानुन व्यवसायीले आइतबार नै फैसलाको पूर्ण पाठ पाएको पुष्टि गर्दै यस विषयमा अध्ययन गरिरहेको बताएका छन् । अध्ययनका क्रममा रहेको बताउँदै १५–२० दिनभित्र उच्च अदालतमा अपिल गर्ने बताए । न्यायाधीशले प्राकृतिक न्यायकोसिद्धान्तविपरीत आफूहरुले फैसलालाई प्रारम्भिक टिप्पणी गरेको बताउँदै उच्च अदालतबाट सन्दीपले न्याय पाउने पनि विश्वास व्यक्त गरे ।