उद्योग–व्यवसायमैत्री कर प्रणाली बनाउन सरकारलाई सुझाव
विराटनगर । कोशी प्रदेशका उद्योगी व्यवसायीहरूले उद्योग–व्यवसायमैत्री कर प्रणाली निर्माण गर्न सुझाव दिएका छन् ।
सरकारले कर प्रणाली व्यवस्थित गर्न अध्ययनका लागि गठन गरेको समितिलाई उद्योगी–व्यवसायीले सुझाव दिएका हुन् ।
उद्योगी–व्यवसायीका प्रतिनिधिमूलक संस्थाहरुले उक्त समितिलाई सुझाव दिंदै उद्योग र व्यवसायमैत्री कर प्रणाली बनाउन आग्रह गरे ।
समितिका सदस्यद्वय नेपाल सरकारका पूर्वसहिचव लक्ष्मण अर्याल र श्याम दाहाललाई उनीहरुले सुझाव दिएका हुन् ।
त्यस क्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश राजश्व समितिका सभापति उद्योगी देवकीनन्दन अग्रवालले उद्योगी–व्यवसायी मैत्री कर नीति निर्माण गर्न आग्रह गरे ।
आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डीबी क्षेत्रीले आइतबार कार्यालयमा आयोजना गरेको छलफलका क्रममा कोशी प्रदेशका उद्योगी व्यवसायीसँग आवद्ध संघ संगठनका पदाधिकारी र चार्टर एकाउन्टेन्टहरूको सहभागिता थियो ।
छलफलमा सरकारका राजश्व सचिव महेश बराल र उपसचिव कमल भट्टराईको पनि सहभागिता थियो ।
छलफलमा सहभागी नेपाल चार्टर एकाउन्टेन्ट संघ विराटनगर शाखाका अध्यक्ष अश्विनीकुमार बंशलले उद्योगी–व्यवसायीलाई प्रोत्साहन गर्ने गरी कर नीति निर्माण गर्न गठित सुझाव दिएको बताए ।
सरकारले चैत मसान्तभित्र उद्योगी–व्यवसायीबाट कर प्रणालीसम्बन्धी सुझाव लिएर रायसहित प्रतिवेदन बुझाउन समितिलाई जिम्मेवारी दिएको छ ।