लगानीमैत्री वातावरण बनाउन आवश्यक : परराष्ट्र मन्त्री साउद
काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउदले लगानीकर्ताहरूका लागि नेपालमा लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित ’अवार्ड फर एक्सेलेन्स’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले आन्तरिक र बाह्यरुपमा लगानीमैत्री वातावरण बनाउन सके प्रतिफल हात पार्न सकिने बताएका हुन् ।
‘सबैभन्दा महत्त्वपूर्ण कुरा लगानीमैत्री वातावरण बनाउन आवश्यक छ । आन्तरिक पनि बाह्यरुपमा पनि हामीले लगानीको वातावरण बनाउनुपर्दछ ।’, उनले भने, ‘आन्तरिक रूपमा हाम्रा जति पनि लगानीकर्ताहरू छन्, उनीहरूलाई अझ बढी लगानी गर्न र नेपालमै लगानी गरी प्रतिफल हात पार्न सकिन्छ भन्ने सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ।’
आर्थिक कूटनीतिलाई बलियो बनाउन सरकारले तीव्रता साथ काम गरिरहेको उनको भनाई थियो ।
उनले भने, ’लगानी सम्मेलनका लागि परराष्ट्र मन्त्रीको हैसियतले आर्थिक कूटनीतिको पाटो महत्त्वपूर्ण छ र यसका लागि हामीले काम गरिरहेका छौँ।’
विदेशीलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण बनाउन लगानीसम्बन्धी नीतिमा भएका सुधारहरू देखिने गरी बुझाउन आवश्यक रहेको मन्त्री साउदको धारणा थियो ।
उनले भने, ‘कुनै पनि लगानी सम्मेलन नेपालमा हुनुभन्दा अगाडि हाम्रो लगानी नीतिमा विदेशीलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण बनाउन के–के सुधार गर्न सक्यौँ, त्यो कुरोचाहिँ पहिले प्रस्तुत हुन आवश्यक छ। त्यो काम जति चाँडो हामीले गर्न सक्छौँ, त्यो मोडल लिएर हामीले यी–यी कुराहरू गर्न सक्यौँ भनेर बाह्य लगानीकर्ताहरूलाई भन्नसक्छौं– तपाईँहरू आउनुस्, त्यसको प्रतिफल पनि आफ्नो देशमा सुरक्षित लैजान सक्नुहुन्छ।’
मन्त्री साउदले नेपालमा गर्ने लगानी पनि प्रतिफलमुखी हुने, फाइदा हुने र पुनः लगानी गरेर त्यसो नाफालाई आफ्नो देशमा लैजान सुरक्षा दिन सकिन्छ भन्ने प्रत्याभूति दिलाउन सक्नुपर्ने बताए ।