महिला विश्वकप क्रिकेट प्रतियोगिता गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा खेलाउने इच्छा छ : रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सन् २०२७ को यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा खेलाउने इच्छा रहेको बताएकी छिन् ।
शुक्रवार लोकतान्त्रिक खेलकुद संघले भरतपुरमा आयोजना गरेको मैयाँदेवी स्मृति यु–१९ प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख दाहालले नेपाल क्रिकेट संघ क्यानलाई यसका लागि आवश्यक व्यवस्थापन मिलाउन आग्रह गरिन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले सन् २०२७ मा हुने यु–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । जसअनुसार सन् २०२७ को यु–१९ महिला विश्वकप नेपाल र बङ्गलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्यान्डले आयोजना गर्ने छन् ।
प्रमुख दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बाँकी निर्माण कार्यका लागि माघ महिनाभित्रै ठेक्का आह्वान हुने स्पष्ट पार्दै वागतमी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले केही दिनमा बजेट विनियोजन गर्ने उल्लेख गरिन् ।
वागतमी प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा रु १ अर्ब लगानीमा बाँकी निर्माण कार्य अगाडि बढाउने सम्झौता भएको थियो ।