एंगोला र बुर्किना फासो अफ्रिका कपको अन्तिम १६ मा
काठमाडौं । एंगोला र बुर्किना फासोले अफ्रिका कप अफ नेशन्समा समूह डीबाट अन्तिम १६ मा स्थान पक्का गरेका छन् ।
समूह चरणको अन्तिम खेलमा एंगोलाले बुर्किना फासोलाई २–० गोल अन्तरले पराजित गर्दा पनि दुवै टिम अन्तिम १६ मा शीर्ष २ स्थानमा रहेर प्रवेश गर्न सफल भए । अर्को खेलमा मौरिटेनियाले अलजेरियालाई १–० ले पराजित गर्दै ३ अंकमात्रै भएपछि बुर्किना फासो ४ अंकका साथ अन्तिम १६ मा प्रवेश गर्न सफल भयो । मौरिटेनियाको पनि उत्कृष्ट तेस्रो हुँदै नकआउट चरणमा पुग्ने सम्भावना बाँकी रहे पनि अन्य समूहको नतिजा कुर्नु पर्ने छ ।
मंगलबार राति एंगोलाले बुर्किना फासोविरुद्ध ३६ औं मिनेटमा अग्रता लिएको थियो । क्रिष्टोभा माबुलोले गोल गर्दै अग्रता दिलाएका थिए । एम्बोरसिनी एन्टोनियोलो दोस्रो हाफको अतिरिक्त दोस्रो मिनेटमा गोल गर्दै एंगोलालाई २–० को सहज जित दिलाए ।
यही समूहमा रहेको मौरिटेनियाले अल्जेरियालाई १–० ले स्तब्ध बनाएको छ । मौरिटेनियाका लागि मोहम्मद देलाहीले गरेको ३७ औं मिनेटको एक मात्र गोल नै निर्णायक बन्न पुग्यो ।