प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा पुलिससँग आर्मी पराजित
भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको विभागीय डर्वीमा नेपाल पुलिस क्लब विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत भैरहवामा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १३ रनले पराजित गरेको हो ।
बाक्लो हुस्सु लागेका कारण १७ ओभर घटाउँदै ३३ ओभरको खेल सञ्चालन भएको थियो । जसमा टस हारेर पहिला ब्याटिङ गरेको पुलिस ३३ ओभरमा १४० रनमा समेटिएको थियो । पुलिसका लागि सुनील धमलाले सर्वाधिक ५२ रनको अर्धशतकीय पारि खेल्दा आरिफ शेखले १८ रन बनाए । यसैगरी दीपेन्द्रसिंह ऐरी १३ रनमा रनआउट हुँदा रसिदा खान पनि १३ रन बनाएर पभेलियन फर्किए । केरण केसी र अर्जुन साउदले १०–१० रन जोडे ।
आर्मीका सोमपाल कामीले सर्वाधिक ४ विकेट लिँदा सहाव आलम र जीतेन्द्र मुखीयाले दुई दुई विकेट लिए । यसैगरी कुशल मल्लले १ विकेट हात पारेका थिए ।
१४१ रनको सामान्य लक्ष्य पछ्याएको आर्मी ३२.२ ओभरमा १२७ रनमा रोकिन पुग्यो । ओपनरद्वय इमरान शेख, सन्तोष कार्कीका साथै सन्दीप रजालीले खाता नै खोल्न नसक्दा आर्मी सुरुमै दबाबमा आएको थियो ३ रन बनाउँदा ३ विकेट गमाएको आर्मीका लागि भीम सार्की र कुशल मल्लले पारि सम्हालेका थिए । कुशल मल्ल २१.२ ओभरमा ३५ रन बनाएर आउट हुँदा भीम सार्की ५२ रनको अर्धशतकीय पारि खेलेर पभेलियन फर्किए । पाँचौं विकेटको रुपमा सार्की आउट हुँदा आर्मीले १०९ रन बनाइसकेको थियो । त्यसपछि अरु पाँच विकेट १८ रन बनाउँदा गुमाएपछि आर्मी पुलिससँग पराजित भयो । आर्मीका कप्तान विनोद भण्डारीले १९ रन जोड्दा वसिर अहमदले खाता खोल्न सकेनन् । यसैगरी जीतेन्द्र मुखीयाले नटआउट ३ रन बनाउँदा सहाव आलम र सोमपाल कामी पनि तीन तीन रन बनाएर आउट भएपछि आर्मीको पुरै इनिङ धरासायी बनेको थियो ।
आर्मीलाई रोक्ने क्रममा सागर ढकाल ललित राजवंशीले तीन तीन विकेट लिए भने रशिद खानले २ विकेट हात पारे । यस्तै दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।
जितसँगै पुलिस शतप्रतिशत जितका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आर्मी भने ४ अंकका साथ छैटौं स्थानमा रहेको छ । जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेश शीर्ष स्थानमा रहेको छ ।