अन्नपूर्ण आरसीटीले फुटबल प्रशिक्षण चलाउँदै
काठमाडौँ । फुटबल खेलाडी उत्पादनका लागि अन्नपूर्ण आरसीटीले ग्रास रुट फुटबल प्रशिक्षण आयोजना गर्ने भएको छ । आरसीटीले काठमाडौँ महानगरपालिकाको सहयोगमा प्रशिक्षण थाल्ने भएको हो ।
आगामी सातादेखि सुरु हुने प्रशिक्षण कार्यक्रम कम्तीमा ६ महिना चल्नेछ । ८ देखि १४ वर्षसम्मका बालबालिकाले भाग लिन सक्ने प्रशिक्षण प्रत्येक शनिवार र बिदाका दिन सञ्चालन हुने आरसीटीले जनाएको छ ।
प्रशिक्षकमा सय जनाको सहभागिता रहनेछ । प्रशिक्षण एनसेल फुटबल मैदान लैनचौर र बाँसबारी खेल मैदान बाँसबारी गरेर दुई स्थानमा गराउने तालिका छ ।
प्रशिक्षक समूहमा हरिओमन श्रेष्ठ, चेतनारायण श्रेष्ठ, अर्जुन लामा, प्रकाश वैद्य, सुरेश शाही र डामोदर शिल्पकार पनि रहने छन् । प्रशिक्षणमा सहभागी हुनेको बिमा पनि गरिने जनाइएको छ ।
घरेलु नेपाली फुटबलका सबैभन्दा सफल र लामो इतिहास भएको अन्नपूर्ण आरसीटीले औपचारिक रूपमा ग्रास रुट ट्रेनिङको आयोजना गर्न लागेको यो पहिलो पल्ट हो ।