धनगढीमा ग्रास रुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने

धनगढी । कैलालीको धनगढीमा ग्रास रुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने भएको छ। धनगढी उपमहानगरपालिकासँगको साझेदारीमा गो ड्रिमर्सले उपमहानगरपालिकामा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले शुक्रवार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
दुवै पक्षबिच उपमहानगरपालिकाका दुई नमुना स्कुलहरूमा ग्रास रुट लेभल क्रिकेट कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको बताइएको छ ।
नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत छनौटमा परेका धनगढी वडा नम्बर १२ स्थित श्री सिद्धनाथ मावि, जुगेडा र धनगढी वडा नम्बर १८ स्थित श्री चन्द्रोदय मावि, फुलबारीमा उक्त कार्यक्रम लागु हुने प्रमुख हमालले जानकारी दिए ।
नगरप्रमुख हमालले नमुना विद्यालयमा क्रिकेटको नर्सरी विकास गर्नका लागि यो कार्यक्रम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘नयाँ प्रतिभालाई उत्पादन गर्ने उद्देश्यका साथ हामीले विगतदेखि नै धनगढीलाई क्रिकेटको सहरका रूपमा स्थापित गर्न अग्रसर भइरहनुभएका सुवास शाहीको टिमसँग क्रिकेट विकास कार्यक्रमको सम्झौता गरेका छौँ । यो नमुना स्कुलमा क्रिकेटको नर्सरी तयार गर्ने समझदारी हो । क्रमिक रूपमा अन्य विद्यालयहरूमा यो कार्यक्रम लागु गर्दै जानेछौँ । यस कार्यक्रमले धनगढीलाई क्रिकेटको सहरका रूपमा स्थापित गर्ने अभियानलाई मूर्तरूप दिने विश्वास लिएको छु,’
गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले अन्तर्राष्ट्रियकरण खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यो कार्यक्रम सुरु गरिएको बताए ।
शाहीले भने, ‘ग्रास रुट लेभल क्रिकेट विकास कार्यक्रमको प्रस्तावलाई स्विकार्दै साझेदारीको हात अगाडि बढाउने धनगढी उपमहानगरपालिका र नगरप्रमुख गोपाल हमाल ज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु । नेपाली क्रिकेटको विकासका लागि स्थानीय तहसँगको सहकार्यमा हुन लागेको यो कार्यक्रम मोडेलका रूपमा स्थापित भएको छ । भविष्यमा नेपालबाट अन्तर्राष्ट्रिय खेल्ने खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको यस कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउन चाहान्छौं । ’
धनगढीलाई क्रिकेटको सहरका रूपमा स्थापित गर्न गो ड्रिमर्सको टिमले विगतदेखि नै धनगढी क्रिकेट लिग हुँदै धनगढी प्रिमियर लिगसम्मका व्यावसायिक क्रिकेट प्रतियोगिताहरू गर्दै आएको छ ।