यात्रा ब्रिसवेनको भाग-२
कमल खनाल /अष्ट्रेलिया
मोन्टकुट्था – बेलुकाको ६.३० भएको थियो ब्रिसवेन पुग्दा। ई.गणेश न्यौपानेले हाम्रो बसोबासको व्यवस्था मिलाएका थिए। उनी भेट्रान माइग्रेसन एजेन्ट पनि थिए। ब्रिसवेनको मुटुमा अफिस नै खोलेर बन्दोबस्तका साथ बसेका थिए।
उनैले ब्रिसवेनको चार दिनको घुम्ने कार्यक्रम मिलाएका थिए। हामी पुगेकै दिन बेलुका १० बजे राति मोन्टकुट्थामा पुर्याएर पुरै ब्रिसवेनको झिलिमिली दृश्य देखाए। ब्रिसवेन पुरै देखिने अग्लो ठाउँ थियो त्यो। दक्षिण पश्चिम तिर फर्केर रमाइलो हेरियो। रातमा रमाएको सहर अलि उत्तेजित नै हुन्छ। यसरी रमाउँदा हामीले पाउने आनन्द भनेकै रातले छरेका दृश्यहरू हुन। त्यो हेर्यौ।
दिनमा देखिने ब्रिसवेन सहर र रातमा हेरिने ब्रिसवेन सहरमा, रातको अँध्यारो र बत्तीको उज्यालो बिचको सम्बन्धमा रमाइलोका हिसाबले धेरै फरक देखिने रहेछ। ब्रिसवेनको रातको सुन्दरताले आँखालाई धेरै दुःख दियो।रातमा झुलिरहेको ब्रिसवेनलाई आँखाका परेलीमा बोकेर हिँड्यौ।ब्रिसवेनको उत्तेजना र सुन्दरतालाई आँखा वरिपरि घुमाइ राख्न मोन्टकुट्थाले धेरैलाई सहयोग गरेको थियो हामीलाई जस्तै ।
मोन्टकुट्थाबाट रातिमा देखिएको ब्रिसवेन सहरको दृश्य
कङ्गारु प्वाइन्ट
मोन्टकोट्थाबाट देखिने ब्रिसवेन सहरको आनन्दलिदा लिँदै समयले बितेको पत्तै भएन। झटपट गाडी तिर दौडियौ। त्यस पछि गाडी दौडाए मोन्टकोट्थाको फेदी तिर नदिको किनारमा, पुग्यौ। जहाँ चट्टानले बनेको पहाड नदिको किनारामा रहेछ।
शहक र कङ्गारु प्वाइन्टलाई नदिले छुट्टाएको रहेछ। जसलाई कङ्गारु प्वाइन्ट भनिँदो रहेछ। रातमा पुगेकोले कङ्गारु देखिएन। सहरको बत्ती नदिको पानीमा पर्दा दिने रङ्गहरूले त्यो रातको भिजिटलाई रोमाञ्चक बनायो। झन्डै दश घण्टाको सिड्नी देखि ब्रिसवेनसम्मको लामो यात्रामा प्यासिफिक हाइवेले गलाएको शरीरलाई त्यो रातले ऊर्जा दिइरहेको थियो। रातको एक बज्यो शरीर र बिछ्यौनाको भेट हुँदा। थाकेको भएर होला भुसुक्कै निदाइएछ।
कङ्गारु प्वाइन्टबाट देखिने दृश्य
मौसमको साथ
छिटो रात पर्ने र छिटो उज्यालो हुने रहेछ यो समयमा। प्रकृतिको नियम नै हो पश्चिममा घाम अस्ताउने पूर्वमा उदाउने नियमलाई स्वीकार गरेर
बसेको थियो ब्रिसवेन। डे लाइट सेभिङ्गलाई महत्त्व नदिँदा पनि यस्तो भएको थियो व्रिसवेनमा। हामी त्यस्तै समयमा पुगेका रहेछौ र महसुस गरेका थियौ। ढिलो सुतियो निद्रा पुग्यो पुगेन थाहा भएन। सिड्नी भन्दा एक घण्टा चाडै नै उठ्नु पर्ने रहेछ।
हप्ता दिन देखि परिरहेको पानीले सडक र जमिन जलमग्न भएको समाचार आइरहेको थियो। हामीलाई किशोर भाइले ब्रिसवेनको वर्षाका बारेमा जानकारी गराइ रहेका थिए। यात्रा कठिन हुने सम्भावना पनि त्यतिकै थियो। हामीले पनि यात्रा रोक्न सकेनौ। पानीले गरेको विद्रोह मानिससँग थियो। होचा जमिनहरूमा बनेका घर र व्यापारिक केन्द्रहरू डुबानमा परेका थिए।
गाडी गुड्नै नसक्ने गरी जल भरिएका सडकहरूले हामीलाई कतै कुनै उपद्रो मच्चाएन। ब्रिसवेनले हामीलाई स्वागत गरेको महसुस गर्यौ। भाग्य बस हाम्रो यात्रालाई मौसमले सहयोग गर्यो। हामी जति ब्रिसवेन तिर बढ्दै गयौ पानी पर्न बन्द हुँदै गयो। ब्रिसवेन पुग्दा त घाम लाग्यो। वर्षा हरायो। हामीले ब्रिसवेनमा परेड खेल्दासम्म पानी परेन। बरु उखरमौलो घामको तापले समुन्द्रका किनार सम्म पुर्यायो हामीलाई।
सनसाइन कोष्ट
ब्रिसवेनमा लगातार एक हप्ता देखि परेको पानीले आज विश्राम लिएको छ। बिहानै सुनौला घामले ब्रीसवेनलाइ स्पर्श गर्यो। आकाश खुल्यो। सुन्दर दिनको प्रतीक्षामा ब्रिसवेन थियो। यो बिहान मानिसहरूको चहल पहल बढ्न थाल्यो। गर्मी आकासिएको थियो। त्यसैले आज सबैको ध्यान र मन तटीय क्षेत्रतिर पुग्ने नै भयो। समुद्री किनारहरू तिर जानेको लर्को लाग्न थाल्यो। हाम्रो कार्यक्रम पनि सनसाइनकोष्ट जाने थियो। बाटो व्यस्त हुन्छ भनेर हामी पनि चाडै नै खाना खाएर सनसाइन कोष्ट तिर लाग्यौ।
सनसाइन कोष्टको नामले पनि मनलाई भ्रमित बनाइ रहेको थियो। कल्पनामा डुबाइरहेको थियो। तटीय क्षेत्रहरू पूर्ण रूपमा व्यस्त हुनेछन्। समुद्री किनारहरूले थेग्नै नसक्ने गरी पानीमा खेल्नेहरू पुग्नेछन्। किन भने नयाँ वर्षको बिदा रमाइलो गरेर मनाउन पानीले रोकेको थियो।
धेरै टाढाबाट समेत ब्रिसवेनका सनसाइन कोष्ट,गोलकोष्ट, माउन्टकोथाटावर ,कङ्गारु प्वाइन्ट र ग्लास माउन्टेन जस्ता रमणीय स्थलहरूको आनन्द लिन धेरै मानिसहरू आएका थिए। हाम्रो यात्रा पनि यसरी नै भएको हो। ब्रिसवेन प्रवेश गरेको दोस्रो दिनको पहिलो यात्रा सन साइन कोष्टका लागि गरियो।
ब्रिसवेनको नर्थ कोष्टमा पर्ने सनसाइन कोष्ट पुग्न हामी बसेको स्थानबाट ७६ कि मि टाढा पुग्नु पर्ने थियो। ५४ मिनटको समय गाडी भित्रै बसेर बिताउनु पर्ने रहेछ र बिताइयो पनि।सनसाइन कोष्टमा गरिने जलक्रीडाका लागि ठाउँ रोज्नु र खोज्नु महत्त्वपूर्ण विषय थियो। सनसाइन कोष्टमा एघार वटा बिचहरू रहेछन्। समुद्रद्वारा निर्माण गरिएका कोष्टलहरूलाई आकार अनुसारको नाम दिइँदो रहेछ। सबै बिचहरू एकै किसिमका रहेनछन्। आकार र प्रकारमा धेरै फरक हुने रहेछन्। त्यसैले बिचको छनौट पनि आनन्द लिने विषय हुने रहेछ। कतिपय बिच सहरका नजिक थिए कतिपय जङ्गलका नजिक थिए। पानी सफा र निलो रङ्गमा देखिन्थ्यो।
सनसाइनकोष्टका दृश्यहरू
समुद्र चुम्न र प्रकृतिसँग रम्न आतुर मन
हप्ता दिन सम्म परेको पानीले सडकलाई शान्ति दिए पनि मानिसहरूको मन भने अशान्त भइरहेको थियो। नयाँ वर्षको बिदा घर भित्रै बित्ने हो कि भन्ने लागि रहेको बेला ब्रिसवेनमा आज घाम लागेको छ। टाउको होइन आँखा पोल्ने घाम थियो। त्यसैले आज सडक व्यस्त थियो। लेन चेन्ज गर्न कठिन थियो।
मानिसहरू गाडीको स्पिड प्रतिस्पर्धामा भाग लिए झैँ गरेर कुँदिरहेका थिए। ११० बढीको स्पिडमा कुँदाउनेहरूको चिन्ता रमणीयतालाई कब्जामा लिनु थियो। त्यसैले आज सडक अनुशासनलाई कमैले मात्र पालना गरेका थिए। हामी स्पिड मेन्टेनमा थियौ तर पछाडि आएका गाडीहरूले हामीलाई ह्यारेस गरिरहेका हुन्थे।
मानिसहरूको कत्रो क्रेज समुन्द्रलाई चुम्न। कति आतुर घरबाट बाहिर निस्केर प्रकृतिसँग रम्न। हुन त यहाँको जीवन नै यसरी नै चलिरहेको छ।एउटा घर ,गाडी र कामको मात्र चिन्ता हो। यहाँ सम्पत्ति कमाउने र बचाउने प्रतिस्पर्धा छैन। प्रतिस्पर्धा केवल टाढाको यात्रा र सुन्दर र रमणीय स्थलहरूको आनन्द लिनका लागि मात्र हुन्छ।घर छोडेर जति टाढा जान सक्यो त्यति नै रमाउनेहरू प्रशस्त छन्।
हामीले पनि सनसाइन कोष्ट पुग्ने यात्रा पार गर्यौ। मानिसहरूको भीड जङ्गल,जल र रेस्टुरेन्टहरूसम्म थियो। गाडिकालागि बनाइएका पार्किङ्गहरु पुरै भरिएका थिए। भरिएका पार्किङमा कुरेर पार्किङ खोज्नु पर्ने थियो ।
बिकिनीमा छरपस्ट महिलाहरू एकले अर्कोलाई चुम्बन गर्दै हिँडिरहेका थिए। तातो घाममा शरीरलाई सर्वाङ्ग पारेर फालेका थिए। सोच र चिन्ता विहीन माहौलमा हामी फरक परिवेशका मानिसहरूलाई समायोजन गर्न कठिन थियो।
पहिल्यै गाडी पार्किङको समस्या फेस गर्नु पर्यो। धन्नै एक घण्टा पार्किङ व्यवस्थालाई समय दिनु पर्यो। अनि थाहा भयो सडकमा गाडीहरूको स्पिड प्रतिस्पर्धा किन भएको रहेछ। गाडीको पार्किङ पछि पनि करिब डेढ कि मि हिँडेर सबैको मन मस्तिष्क मा भएको स्थानमा पुगिने रहेछ। पदयात्री झैँ बाटो भरि हिँड्ने मानिसहरू थिए। जलक्रीडाका लागि आवश्यक सामग्रीका साथ लामबद्ध भएर अगाडि बढिरहेका थिए। जङ्गलको बाटो साँगुरो थियो।
युरोपियन संस्कारमा हुर्के बढेकाहरूको रमाइलो पनमा एसियन मूलका महिलाहरू अनभिज्ञ झैँ लाग्थ्यो। कोसिस गर्थे तर आफैसँग लजाउँथे। जबरजस्त जलक्रीडामा प्रवेश गर्थे तर अर्धनग्न अवस्थामा, त्यो पनि सामान्य कुरा थिएन। सम्मान र संस्कृतिको संस्कारमा हुर्केकाहरूलाई। हामी सनसाइन कोष्टमा पुग्यौ। पहिलो दोस्रो गरी धेरै बिचहरू पुग्यौ तर बिचहरू सबै नै भरिएका थिए। मानिसहरूमा कत्रो क्रेज समुद्री किनारमा जाने र पानीमा खेल्ने। हामीमा पनि त्यस्तै चाहना थियो। त्यही रहेको नुसाहेड समुद्री सतहमा हामी पुग्यौ। समुद्रले वर्षौँ वर्ष सम्म हानेर छोडेको दीप, जस्तो आकारको हुन्छ त्यही आकारलाई हेरेर नामा करण गरिएको हुने रहेछ।
सनसाइन कोष्टको एउटा आकारलाई नुसाहेड भनिँदो रहेछ। नुसाहेडमा हामीले जलक्रीडा गर्यौ करिब डेढघन्टा। समुद्र र सूर्यका किरणहरूको सम्बन्ध र समुद्रमा उठ्ने ठुला र साना छालहरूले दिने आनन्द सायदै कतै पाइएला। त्यस्तो रमणीयतामा रमेर आनन्द लिनेहरूले नभुल्ने एउटै कुरा मात्र हुन सक्थ्यो। त्यो थियो भोक। नत्र सबै भुले जस्तो लाग्थ्यो। हाम्रो पनि शरीर थाक्यो भोक लाग्यो र जलसँगको सम्बन्ध टुटाइयो।
दुई वटा हेलिकप्टर भइपरी आउने दुर्घटनाको उद्धारका लागि समुद्र माथि उडिरहेका थिए। समुद्री बिचहरू मानिसहरूबाट छपक्कै छोपिएका थिए। नर्थ कोष्टमा पानी पर्ने सम्भावना देखाइएको थियो तर पानी परेन घामको न्यानोले पानीसँग मानिसहरूको सम्बन्ध बैसालु युवा युवतिको प्रेम जस्तो थियो।कठिनताका साथ सनसाइनकोष्टको रमाइलोलाई त्यही छोड्यौ र स्मृति मात्र लिएर फर्कियौ। सनसाइन कोष्टका रेस्टुरेन्टहरूले पोखराको बैदामलाई सम्झायो। उस्तै झल्को दिने प्रकृति पनि उस्तै लाग्ने रूखैरूखहरूले ढाकिएको। विभिन्न रङ्गका मानिसहरूको चहलपहलले पोखरा सम्झायो र मेरो मनलाई पनि एक पटक पोखराको बैदाम तिर घुमायो। पुरानो स्मृति दिएर।
र यो पनि…
(लेखक : राष्ट्रिय खेलकुद परिषद्का पूर्व अधिकृत हुन्। हाल उनी अस्ट्रेलिया भ्रमणमा छन्। सं.)