यात्रा ब्रिसवेनको
कमल खनाल/
बिहानै ब्रिसवेनको यात्रामा निस्कियौ ७.३१ मा। नयाँ वर्षको पहिलो दिन थियो। १ जनवरी २०२४ बिहानको समय। गाडीले लिभरपुलको बाटो समायो। केही समय पछि लिभरपुल छुट्यो। जोसेप स्ट्रेट तिर लागियो। त्यस पछि न्यूक्यासल जाने मूलबाटो समातियो।
अन्ततः सबै बाटोहरू प्यासिफिक हाइवेमा गएर समाहित भए। सिड्नी र ब्रिसवेन जोड्ने हाइवे रहेछ प्यासिफिक हाइवे। प्यासिफिक हाइवेमा गाडीले लय समात्यो। तर सडकको बनौट अनुसारको स्पिड कायम गर्नु पर्थ्यो। बढीमा प्रति घण्टा एक सय १० किमी स्पिड हुनु पर्थ्यो। आज सडकमा गाडीको चाप कम थियो।
अघिल्लो दिन राति १२ बजेसम्म नयाँ वर्षलाई स्वागत गर्नेहरू उठिसकेका थिएनन् र उनीहरूको बेडसँगको सम्बन्ध टुट्न बाँकी नै थियो। निद्रा बाँकी भएर नै होला बेड छोड्न सकेका थिएनन् । घरबाट निस्केको ४० मिनेट पछि हंग्सबुरी रिभर साइडको रेष्ट एरियामा गाडी रोकियो,फोटो खिचियो। न्यूक्यासल सिड्नीबाट करिब दुई घण्टा छत्तिस मिनट अर्थात् एक सय ८२ कि मि को दुरीमा रहेछ। न्यूक्यासल घुम्ने रहर पनि थियो।
न्यूक्यासललाई पछि भेट्ने गरी प्यास्फिक हाइवेको पिछा गरियो। हाम्रो गाडी अगाडि बढिरह्यो। घरबाट निस्केर न्यूक्यासललाई छोड्दा सम्म एक घण्टाको समय बित्यो। गाडी ब्रिसवेन तिर मोडियो। न्यूक्यासललाई दायाँ छोडेर हिँडियो। गाडी रफ्तारमा दौडिरह्यो। चार घण्टाको दौडाइ पछि पोस्टरलाई (रमाइलो ठाउँ)पनि दायाँ छोडियो। केही समय पछि प्यासिफिक हाइवेलाई पनि एक रातका लागि छोडियो। ह्यारिगटन रोड तिर मोडियो हाम्रो गाडी। एक रात ह्यारिङ्गंटनमा बिताइयो।
भाले कङ्गारुको कुटाइबाट जोगिए
ह्यारिङ्गटन डाइमन हेड र क्राउडी हेड दुई हेड प्यासिफिक ओसन र तासमान सीका प्रतीक रहेछन्। डाइमन हेड नजिक पुग्दा ठुलो भाले कङ्गारुले दुई हात जोडेर बसेको देखियो। मेरो कङ्गारुसँग भेट्ने र फोटो खिच्ने अपेक्षित रहर थियो। लाग्यो मेरो रहर पुरा हुने भयो। म गाडिबाट ओर्ले मलाइ देखेर भाले कङ्गारु अलि पर गयो। पोथी कङ्गारु पहिले नै गइसकेकी थिई। त्यहाँ उसको साथी रहेछ। एक छिन पछि भाले कङ्गारुले पोथी कङ्गारुलाई लिएर जङ्गल तिर लाग्यो।
भाले कङ्गारुले आफ्नो रहर पुरा गर्न तिर लागेको थियो होला। मैले पिछा गरे तर उसले फर्केर हेर्दै थियो, म डराए। कङ्गारुले कुटेको मैले देखेको छु। तर मलाइ फोटो लिन भित्रैदेखि मन थियो। मनलाई इन्कार गर्न नसकेर कङ्गारुको पछि लागेँ। भाले कङ्गारु पोथी कङ्गारुलाई लिएर क्रीडा स्थलमा तिर गइरहेको रहेछ।
जब मैले पिछा गरे उसका क्रियाकलापसँग म साक्ष्यता भए। उ म सँग धेरै रिसायो। फरक्क फर्केर दुई हात जोरिएको पोजिसनमा मानिस उभिए झैँ गरेर ठिङ्ग उभियो। उसले मलाइ हेर्यो आफ्नो नजिक नआउने सङ्केत गर्यो। म डराए, केही वर रोकिए। फोटो खिच्ने मौका भने मिल्यो। मेरो कङ्गारु हेर्ने र फोटो खिच्ने रहर पूरा भयो। मैले अगाडि बढ्ने गल्ती गरेको भए कङ्गारुको नराम्रो सँग कुटाइ खानु पर्थ्यो। मैले आफूलाई सम्हाले र भाग्य बस म भाले कङ्गारु को कुटाइ खान वाट जोगिए।
ह्यारिङ्गटन
दिउसो भएको थियो हामी ह्यारिङ्गटन पुग्दा। ह्यारिङ्गटन सुन्दर र सानो बस्ती रहेछ। समुद्रको किनारमा रहेको सुन्दर र शान्त बस्तीमा आन्तरिक र बाह्य पर्यटकहरूको भिडभाड बेसी हुँदो रहेछ। ह्यारिङ्गटनको सानो र सुन्दर बस्ती समुद्रको किनारमै रहेछ। नयाँ वर्षको मेला लागिरहेको थियो। गोराजातिहरूको बस्ती रहेछ त्यो। काला र एसियन अनुहार कतै देखिएनन्। एउटा रेस्टुरेन्ट सञ्चालन गर्ने भाइ, उनीसँग विधिवत् सम्बन्ध जोडिन बाँकी श्रीमती र सालीको नाता जोडिन बाँकी एक बैनी मात्र भेटिए। उनीहरूकै निमन्त्रणामा पुगेका थियौ हामी ह्यारिङ्गटन ।
ह्यारिङ्गटनमा बस्ने सबैसँग क्याराभान हुने रहेछ। रिटायरमेन्ट लाइफको आनन्द ह्यारिङ्गटनले भरपुर दिने रहेछ। धेरै मानिसहरू त्यस्तै रहेछन्। ह्यारिङ्गटनको रमाइलोलाई छोड्न निकै गाह्रो भयो हामीलाई। हामी निस्कँदा चार बजेको थियो। लाइट हाउस, क्राउडीहेड र डाइमनहेड पुग्यौ। दक्षिणतिर तासमान सी जसले पश्चिम पट्टीको भाग समेत ओगटेको थियो। पूर्वी भागमा प्यासिफिक ओसन। तासमान सी अण्डाकारमा देखिन्थ्यो भने प्यासिफिक ओसन समतल जमिनको लेभल सुते जस्तो देखिन्थ्यो।
मेरो हेराइमा परेको फरक मात्र थियो कि सत्य थियो म भन्न सक्दिन। तर लाइट हाउसको उचाइबाट देखिने तासमान सी ले जीवनका सारा दुःख पिडा भुलाएर समुद्रमा नै तैराइ दिए जस्तो लाग्थ्यो। सबै संसार भुलेर मनलाई एकत्र बनाएर आनन्द दिइरहे जस्तो लाग्थ्यो। मनलाई नै उकुसमुकुस बनाउँथ्यो। के गरौँ, कसो गरौँ र कता हेरौँ जस्तो मन नै चुलबुल चुलबुल बनाउने शक्ति कसरी पायो होला जस्तो लाग्थ्यो। ठाउँ छोड्न पटक्कै मन थिएन। तर छोड्नै पर्यो। ती समुद्र, समुद्रमा निस्केका तरङ्गहरू घाम र पानीमा टल्कने ती पानीका पोन्दाहरू हेर्दा हेर्दै बेलुकाको ७.३० बजेको थियो डाइमन हेडबाट फर्किदा।
नयाँ वर्षको स्वागत
त्यसै रात नयाँ वर्ष २०२४ लाई स्वागत गर्ने कार्यक्रममा सरिक भइयो। जनवरी १ मा नै ह्मारिङ्गटनले फायरवर्कसको कार्यक्रम राखेको रहेछ। खुल्ला चौर भरि मानिसहरूको भीड लागिसकेको थियो। त्यसै रातको ९.१५ मा फायरवर्कसको कार्यक्रम सुरु हुने रहेछ। रातको ९ बजिसकेको थियो हामी पुग्दा। ९.१५ मा फायरवर्कस कार्यक्रम सुरु भयो।
हामीले पनि नयाँ वर्षलाई स्वागत गरेको कार्यक्रम रातको १०.३० बजेसम्म समुद्रको तटीय क्षेत्रमा बसेर हेर्यौ। बडो रमाइलो लाग्यो। अगिल्लो रातको फायरवर्कस भन्दा यो रात रमाइलो भयो। समुद्रका किनारहरूमा धेरै परका ठाउँहरूमा गरिएका फायरवर्कस पनि देखिन्थ्यो। समुद्रको पानी र फायरवर्कसले दिने उज्यालोको संयोजन रमाइलो थियो। त्यही रमाइलो हेर्दा हेर्दै २०२३ लाई नदी किनाराबाट नै बिदाइ गरियो र २०२४ लाई स्वागत गरियो।२०२३ को बिदाइ भन्दा अझ रमाइलोसँग २०२४ आओस् सबैलाई शुभकामना।
पुतलीसडकको मःम पसल
ह्यारिङ्गटन रमणीयताका दृष्टिमा अब्बल स्थान रहेछ। बिहानको सवा आठ भएको थियो हामीले ह्यारिङ्गटन छोड्दा। यो रातमा त्यति राम्रो निद्रा परेन। सुत्दा पौने एक भएको थियो। कोठा ठुलो भए पनि गर्मीले पुरै कोठा छोपिसकेको रहेछ। निद्रा दिन गाह्रो मानेको कोठाले कुखुरे समयमा नै कोठा भित्र उज्यालो छिरायो। उज्यालोले मलाइ गिज्यायो। म उठे। पानी पिए, फलफूल खाएर कफीको समय कुरेर बसे। सबै उठे हिँडे। फुर्सद नभएका मानिस र फुर्सद नदिने देशको पाउनाका रूपमा म पुगेको थिए। उहिल्यै पुतली सडकमा एउटा पढेको मानिसले मःम पसल गरेको देख्दा फलानो त यस्तो भएछ भनेर हेला गर्नेहरू।
उच्चशिक्षा हासिल गर्न भनेर पढ्न विदेश लाग्नेहरू विदेश मै कलेज एजुकेसन सके पछि उही पुतलीसडकको जस्तै व्यवसायमा त्यो पनि कामदारका रूपमा रमाउन पुगेका रहेछन्। ठुलो धनराशि खर्च गरेर विदेश गयो ,पढ्यो रेस्टुरेन्टमा काम गर्दा गर्दै रेस्टुरेन्टको मालिक बन्न पुग्छन्। त्यसलाई ठुलो र महत्त्वपूर्ण उपलब्धि ठान्नेहरूले विदेश नै नगई बानेश्वरमा अर्को मःम पसल गरेको भए कम पैसामा स्वदेशमै बिजनेस हुने विदेशमा जाने पैसा बच्ने।
पढेर पनि मःम नै बेच्ने हो भने ठुलो रकम खर्चेर किन पढ्नु? विदेश किन जानु? अर्थात् पुतली सडकको मःम पसलेलाई किन हेला गरेका थिए होलान्? हो उनैको पाहुना भएको थिए म। दोस्रो पटकको चिनजान हो उनीसँग। यहाँ रम्नेहरूको सामाजिक जीवन भनेको देश भुल्ने पैसा कमाउने, राम्रो गाडी किन्ने र घरको व्यवस्था गर्ने। बिदामा घुम्ने। हामी पनि घुम्दै पुगेका हौ त्यहाँ।
क्रमशः
र यो पनि…
बालकुमारी हत्याकाण्ड: विभेदकारी निर्णयको सिकार
(लेखक : राष्ट्रिय खेलकुद परिषद्का पूर्व अधिकृत हुन्। हाल उनी अस्ट्रेलिया भ्रमणमा छन्। सं.)