एनआरएनए आरके समूहको आईसीसी बैठक आह्वान
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आरके शर्मा समूहले आईसीसी बैठक आह्वान गरेको छ ।
११ औँ महाधिवेशनमा बद्री केसी पक्षले धाँधली गरेपछि आफूलाई अध्यक्षको रूपमा अघि सारेका शर्माले कार्य विभाजनमार्फत संस्थालाई चुस्त र गतिशील बनाउने योजनाका साथ आइसीसी बैठक आह्वान गरेका हुन् ।
सोमबार शर्माले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)को बैठक बस्ने छ । शर्माले निवर्तमान अध्यक्ष बद्री केसी र उनको समूहले धाँधली गरेपछि आफूहरूले सबै प्रक्रिया पुरा गरेर कमिटी घोषणा गरेको भन्दै सरकारको निकाय परराष्ट्र मन्त्रालयले आफूहरुलाई छिट्टै न्याय दिने विश्वास रहेको बताए । आफूहरूले सबै प्रक्रिया पूरा गरेकाले परराष्ट्रले न्याय दिने उनको विश्वास छ । शर्मालाई ११ औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार रहेका महेश श्रेष्ठ, पूर्वअध्यक्षहरुसहित ठूलो समूहको साथ रहेको दावी गरिएको छ ।
एनआरएनएभित्र भएको धाँधलीको विवादकै कारण बद्री केसीले जबरजस्ती शपथ दिए पनि हालसम्म आधिकारिकता पाएका छैनन् भने संस्था नवीकरण समेत हुन सकेको छैन ।
उसो त एनआरएनएमा भएको धाँधलीका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अध्ययन प्रतिवेदन पनि तयार भइसकेको छ । सीआईबीले बद्री केसीलाई क्लिन चिट दिन अस्वीकार गरेकोसम्बन्धी रिपोर्ट सम्बन्धित मन्त्रालयमा पुगिसकेको छ । सबै विषयको अध्ययनपछि सरकारले निर्णय दिने बताएको र त्यसमा आफूहरूलाई न्याय मिल्ने शर्माले बताएका छन् ।
शर्माले संस्था एकताबद्ध बनाउनु आजको आवश्यकता भएको भन्दै त्यो आफूहरूबाट सम्भव भएको बताए । तर, बद्री केसीले पदको दुरुपयोग गर्नुका साथै अफिससमेत गैरकानुनी रूपमा हडपेको उनको भनाइ छ ।
सोमबार बस्ने आईसीसीको बैठकमा सामाजिक सुरक्षा कोषको विषय, रुस–युक्रेन युद्धको विषयदेखि वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकले भोगेका समस्यालगायतका समग्र विषयमा छलफल हुनेछ ।
उक्त छलफलमा निस्केका निचोडका आधारमा काम कामकाबारही अघि बढाइने उनको भनाइ छ । सल्लाहकार, मानार्थ सदस्य, आईसीसी सदस्यदेखि विभिन्न टास्कफोर्सहरु बनाएर संस्थालाई गति दिने पनि उनको भनाइ छ । विज्ञहरुको समिति बनाएर गैरवासीय नेपाली र मातृभूमिको हितका साथ काम गर्न आफूहरु अग्रसर हुने शर्माले बताए । यस्तै आईसीसी बैठकबाट प्रवक्ताको नियुक्ति समेत हुने बताइएको छ ।
संघका महासचिव बुद्धिसागर सुवेदीका अनुसार बैठकका लागि विभिन्न एजेन्डा तय भइसकेको छ । भेरो भोट्रिङमा भएको अनियमित, परराष्ट्रसँगको सम्बन्ध र सीआईबीको रिपोर्टसम्बन्धी छलफलको एजेन्डा तय गरिएको छ ।
यस्तै हालसम्म भएका कामहरूको समीक्षा, आईसीसी सदस्य, एनसीसी र पञ्जीकृत सदस्यहरूसँगको समन्वय र जिम्मेवारीका साथै गैरआवासीय नेपाली नागरिकता लिन भएको कठिनाइ सम्बन्धमा पनि छलफल गर्ने गरी एजेन्डा तय गरिएको छ ।
यस्तै नेपालमा लगानी गर्ने सम्बन्धमा, श्रमिक तथा प्रवासी नेपालीहरूको समस्याका सम्बन्धमा, पूर्ति गर्नु पर्ने पद, पदाधिकारी एवं सदस्य मनोनयन सम्बन्धमा र समसामयिक विषयमा छलफल गर्ने गरी एजेन्डा तय गरिएको छ ।