ब्लु माउन्टेनको यात्रा
कमल खनाल
“ब्लु माउन्टेन” भन्ने बित्तिकै हाम्रो मनमा कस्तो सोच पैदा होला? निलो पहाड ? ठुलो पहाड ? अनि त्यही पहाड हेर्न हजारौँ मानिसहरू पुगिरहेका हुन्छन् होला। ब्लु माउन्टेनको यस्तै सोच र उत्सुकता मेट्न पनि त्यही पुग्नु पर्ने हुन्छ। किन भनिएको होला ब्लु माउन्टेन? साँच्चै नै निलो भएर होला?
कि नाम मात्र ब्लु माउन्टेन राखिएको हो? यी प्रश्नहरू को उत्तर खोज्न हामीले ब्लु माउन्टेनको यात्रा तय गर्यौ । जब मानिसले सुनेका कुरालाई नजिकबाट देख्छ तब मात्र उसलाई धारणा बनाउन सजिलो हुन्छ। सुनिएको कुरा,देखिएको कुरा र भोगिएको कुरामा धेरै ठुलो अन्तर हुन्छ। भोगिएको कुरा देखिएको भन्दा प्रभावकारी हुन्छ। सुनिएको भन्दा देखिएको कुराले धारणा बनाउन सजिलो हुन्छ। सुन्नु भनेको महसुस गर्नु हो। यस्तै यस्तै सोचले ब्लु माउन्टेनको यात्रा गरायो हामीलाई पनि।
हामी सिड्नी स्थित बार्डिया घरबाट बिहानको ९.३५ बजे ब्लु माउन्टेनका लागि निस्कियौ। १.१९ मिनटको समय पुरा गरेपछि मात्र ब्लु माउन्टेन पुगिने रहेछ। त्यो पनि सडकमा तोकिएको स्पिड मेन्टेन गरेर। ७० कि मी प्रति घण्टा भन्दा कम हुनुहुन्थेन स्पिड। बढीमा एक सयको स्पिडमा जानु पर्थ्यो । हाम्रो गाडीले डेहामकोट, इगंलवर्न हुँदै ग्रेट वेष्टन हाइवे समात्यो।
सन् २०२३ डिसेम्बर २४ को दिन थियो। आइतबार परेको थियो। अंग्रेजी नयाँ वर्षको बिदा परेकोले होला सडक छोपिने गरी गाडी कुँदिरहेका थिए। ठुला र सपाट सडकहरूमा कुँदेका गाडीहरूको आवाजले सङ्गीतको धुन जस्तै आवाज दिइरहेको थियो। सडकमा कुनै किसिमको उद्दण्डता देखिएन। सबैले सडक अनुशासन पालना गरेका थिए। कोही परिवारसँग थिए, कोही प्रेमिकासँग थिए। बिहानै देखि सिमसिम पानी परिरहेको थियो।
आकाशमा सेतो र कालो बादल गुजुल्टी रहेको थियो। ठुलो पानी पर्ने सम्भावना जीवितै थियो। घाम लागेको भए यात्रा त्यति सहज हुन्थेन। जति मौसम धुमिल भएकोले सहज भयो। बाटोका दायाँबायाँ ठुला र कोशौ टाढा देखिने चौरहरू हेर्दै अगाडि बढ्यौ, जहाँ गाई, भेडा र घोडाहरू चरिरहेका देखिएका थिए। कृषि फार्महरू देखिएका थिए। अनि ठुलो र फराकिलो एरियामा एयरपोर्ट बन्दै गरेको देखियो। हामी जङ्गल भित्रको सडकमा प्रवेश गर्यौ। लगतै एउटा नदी क्रस गर्यौ। त्यस पछि गाडी पहाडी इलाकाको उचाइमा प्रवेश गर्यो।
दायाँ र बायाँ चट्टानहरू देखिन थाले। एक्लो रक पनि देख्यौ। उचाइ चढ्दै अगाडी बढ्यौ। माथि उचाइबाट तलका समथर मैदानहरू हेर्यौ। त्यहाँ बनेका घरहरू र सहरहरू हेर्यौ। कति सुन्दर र आनन्द लाग्दा रहेछन्। माथिको उचाइबाट हेर्दा सिड्नी हारवर्ले सबै दृश्य विस्थापित गरी दिएको थियो। सहरका गगनचूम्ने भवनहरू ठुला र विशाल देखिन्थे। धेरै ठुलो जमिन घर निर्माणले समेटेको रहेछ। पुरै आँखा घुमाएर सिड्नीलाई हेर्यौ। अब मन मस्तिष्क र आँखालाई ब्लु माउन्टेन नजिकका रमणीय दृश्यमा केन्द्रित गरियो।
उकालो चढेर समथर भागमा पुग्दा बाटोमा नै “सर हेनरी पार्क” भनेर लेखिएको देखियो। अझ उचाइ तिर गाडी अगाडी बढ्यो। सडकका दायाँबायाँ रूखका छहारी मुनि सिँदुरे रङ्गका इट्टा लगाएका घरहरूले प्रकृतिलाई नै शोभा बढाइरहेका थिए। मुख्य सहरबाट टाढा भए पनि सहर बिर्साउने गरी बनाइएका घरहरू र व्यवस्थित बसोबास, यात्रीहरूको मन लोभ्याउने खालको थियो।
“सर हेनरी पार्क”बाट अगाडि बढे पछि कटुम्बा भिलेज पुगियो। कटुम्बा भिलेज भने पनि पुरै सहर जस्तै व्यवस्थित थियो। कटुम्बालाई पछाडि छोड्ने बित्तिकै ब्लु माउन्टेन पुगियो। पानी परिरहेको थियो। भारतीय मूलका नागरिकहरू प्लास्टिकको बर्सादी ओढेर आएका थिए। चाइनिज र जापानी मूलका नागरिकहरू अलि व्यवस्थित किसिमले पुगेका थिए। स्थानीय नागरिकहरूको व्यवस्थापन स्वाभाविक थियो। तर हामी नेपालीहरू क्राइसिस म्यानेजमेन्टको दिमाग लिएर पुगेका थियौ।जस्तो परिस्थिति सिर्जना हुन्छ त्यही अनुसार गर्ने गरी पुगेका थियौ।
ब्लु माउन्टेनलाई पुरै बाक्लो हुस्सुले ढाकेको थियो। मौसम पुरै अँध्यारो थियो। एकै छिन पानी रोकियो।कुइरोले स्थान परिवर्तन गर्दै थियो र पनि ब्लु माउन्टेन देखिएन। केही पर गएर गाडी रोकेर खाना खाइयो। त्यस पछि ब्लु माउन्टेन हेर्न जाँदा मनोरञ्जनका लागि बनाइएका “रेल वे” “स्काइ वे” “केबुल वे” र “वाक वे” जस्ता मनोरञ्जन लिने साधनहरू थिए। ती सबैबाट हुने मनोरञ्जन लिने काम गरियो। त्यसै स्थानलाई डायनोसर भ्याली पनि भनिँदो रहेछ। जताततै जीवित डाइनोसर जस्तै देखिने गरी डाइनोसरका स-शरीरहरू राखिएका थिए।
अलिपर ब्लु माउन्टेनको खोचबाट कटुम्बा फल्स देखिने रहेछ। निक्कै माथिबाट झरेको झरनाले पनि मन लोभ्याएको थियो,त्यो पनि हेरियो। यसरी रमाइला प्राकृतिक दृश्य सहितका मनोरञ्जन लिने धेरै कुरा थिए। “रेल वे” एउटा एड्भेन्चरियस इभेन्ट थियो। “स्काइ वे र केवल वे”ले दिने आनन्द भन्दा “रेल वे“ ले दिने मनोरञ्जन बढी आनन्ददायी थियो। नहतारिईकन हेर्ने हो भने समय लिएर जानु पर्ने रहेछ। त्यसैले ब्लु माउन्टेन पुग्नेहरू कोही रात बिताउने गरी गएका थिए, कोही फर्कने गरी गएका थिए।
हामी भने कुरेर भए पनि ब्लु माउन्टेन “थ्री सिस्टर” हेरेर फर्कने कोसिसमा थियौ। “रेल वे, स्काइ वे, केबुल वे र वाक वे“ सबैको उपयोग गरियो। त्यस पछिको मौसम दक्षिण तिर खुल्यो ”थ्री सिस्टर“ देखियो र हेरियो। हामी जसरी नै वर्ष भरिनै मानिसहरू ब्लु माउन्टेन घुम्न पुग्ने रहेछन्। १० देखि १२ लाख मानिसले ब्लु माउन्टेनको भ्रमण गर्दा रहेछन्। अस्ट्रेलिया ब्रिटिसको कोलोनाइजका समयमा नै धेरै ठाउँमा रेलका लिक तयार गरिएका रहेछन्।
ब्लु माउन्टेन जानका लागि बस र रेल दुवैको सुविधा रहेछ। “थ्री सिस्टर”को अधुरो सपनालाई कुरेरै भए पनि तस्बिर लिने काम गरियो। ब्लु माउन्टेन एउटा नाम हो जहाँ हरेक दिन र सिजनमा “थ्री सिस्टर”ले रङ्ग परिवर्तन गर्दा निलो रङ्ग पनि देखिँदो रहेछ। हाम्रो यात्राको प्रमुख भाग पुरा भए पछि हामी त्यहाँबाट फर्कियौ। “सर हेनरी पार्क”को अवलोकन गरियो। त्यस पछि हामी हाम्रो गन्तव्य तर्फ फर्कियौ। त्यो दिन भरि घाम लागेन।
“थ्री सिस्टर”
ब्लु माउन्टेनको कथा बडो रोचक छ। चारै तिर ठूला र अग्ला पाहाड देखिन्छन। घाममा तामा जस्तै राता भएर टल्किन्छन्। पहाडको फेदिमा ठूलो घना जङ्गल छ। वोल्लो र पल्लो पहाडलाइ जोड्ने काम “केवल वे“ ले गरेको छ। ब्लुमाउन्टेन्टमा प्राय मौसम बिग्रीरहने ठाँउ हो। नेपालको भेडेटार जस्तै हुस्सुले पहाडसँग पौठोजोरी खेलिरहेको हुन्छ। मौसमका कारणले मात्र मैले भेडेटार सँग तुलना गरे। अन्य कारणले त तुलना गर्न मिल्दैन।
ब्लु माउन्टेन इतिहासले बेरिएर बसेको पहाड हो। तिनै पहाडलाइ भरपुर मनोरंजन दिएर तीन दिदीबहिनीहरू बसेका छन। दिदीबहिनीको अस्तित्वमा ब्लुमाउन्टेन बाँचेको छ। “थ्री सिस्टर” नहुदो हो त तनहूसुर सँग जोडिएको राम्चेको भीर भन्दा फरक देखिदैनथ्यो। केहि न केहि नाम दिएर हाम्रा पहाडहरूमा पूर्बाधार बनाइ दिने हो भने करोडौ बिदेशी मानिसहरू नेपाल पुग्थे होलान। हाम्रा हिमाल सँगसँगै अन्य मनोरंन्जन दिने अप्राकृतिक बिषयहरू जोड्न सक्ने हो भने बिदेशीहरू पहाडमै रमाउथे। बस्थे,खेल्थे,खान्थे ।
हाम्रा पहाड स्वभावैले मनोरंजन दिन सक्ने खालका छन,एड्भेन्चरियस छन। उपयोग गर्न र हुन नसकेर आज होनहार यूवाहरूले देश छोडेका छन। परदेश जाने जहाज चड्न बाध्य भएका छन। जहाज चडेर पुगिने देशहरूले के गरेका छन? किन हाम्रा यूवाहरू गइरहेका छन? हाम्रो सत्ताले कहिल्यै सोचेन। यूवालाइ धपाउने र सत्तामा रमाउने खेल कहिले सम्म गर्ने र गराउने हो? सोंच्न ढिला भयो कि?
मैले यस्ता पहाडले पैसा कमाएको र धनी भएको देखेर हाम्रा पहाड किन गरिब भए? भनेर उल्लेख गरेको हुँ।
“थ्री सिस्टर” ब्लु माउन्टेनको सम्पूर्ण कथा बोकेर बसेका छन्। “थ्री सिस्टर”को नक्सा नहुँदो हो त ब्लु माउन्टेन रित्तो पहाड हुने थियो जङ्गली जनावर र पक्षीहरूको क्रीडा स्थल मात्र हुने थियो। तर आज ब्लु माउन्टेन भन्ने बित्तिकै निलो पहाड भन्ने छाप हाम्रो दिमागमा पर्छ। कस्तो होला ? कसरी बनेको होला ? पुरै निलो होला कि कतै कतै मात्र होला? हाम्रो मनमा उठ्ने जिज्ञासा यस्तै यस्तै हुन्छन्।
ब्लु माउन्टेनको आकर्षक उत्तेजना नै “थ्री सिस्टर” हो अर्थात् तीन दिदीबहिनी हुन। ट्यावानका तीन छोरीहरू’मेहनी’,’विम्लाह’ र ‘गुन्नेडू’ कटुम्बा जनजातिको सदस्यको रूपमा जेमिसन उपत्यकामा बस्थे। बडो सुन्दर र जवान थिए तीन दिदीबहिनीहरू । “कटुम्बा “जातिका तीन दिदी बहिनीहरू, “नेपियन” जातिका तीन जवान युवाहरूसँग प्रेममा परेका थिए। उनीहरू बिचको प्रेम बडो रोमाञ्चक थियो।
अन्ततः दर्दनाक र कारुणिक रूपमा अन्त्य भएको थियो । ”थ्री सिस्टर” ब्लु माउन्टेनको सुन्दर स्थल चिह्न हुन। यो एउटा असामान्य चट्टान निर्माण हो। जुन चट्टानहरूले तीन दिदीबहिनीको प्रतिनिधित्व गर्छन्। हेर्दा पहाडै पहाडका बिचमा तीन वटा अग्ला मूर्ति जस्ता देखिने ढुङ्गै डुङ्गाको अग्ला चट्टान हुन तीन वटै एकै आकारमा ठिङ्ग उभिएका देखिन्छन्। जुन आदिवासी पौराणिक कथा अनुसार थ्री सिस्टर ढुङ्गामा परिणत भएका थिए ।
तिनै चट्टान नै थ्री सिस्टरका स्वरूपमा देखिन्छन्। पहिलो ९२२ मिटर ,दोस्रो ९१८ मिटर र तेस्रो ९०६ मिटर अग्ला एउटै लाइनमा ठडिएका डुङ्गाको चट्टान देखिन्छ। समुद्री सतहबाट तीन हजार फिट उचाइमा रहेको यो पहाड झट्ट हेर्दा ए त्यही हो “थ्री सिस्टर” भनेको जस्तो लाग्छ र हुन्छ पनि। कथा कारुणिक छ। दर्दनाक छ।
जवानीमा प्रेम बिग्रिएको मात्र होइन। प्रेमले जीवन्त शरीरलाई ढुङ्गामा परिणत गरिदिएको कथा छ। प्रेम युद्धमा परिणत भएको कथा छ। प्रेम र जीवनलाई यथार्थमा परिणत गर्न र छुट्टाउन युद्ध भएको कथा छ। तर युद्धले जीवनको नाश मात्र गरेको छ। त्यै नाश नै ब्लु माउन्टेनको इतिहास हो र आकर्षण हो। जाति जातिको बिचमा युद्ध भएर धेरै मानिसहरू मरेका छन्। मूलतः जेमिसन भ्यालीमा बस्ने आदिवासीहरू “कटुम्बा जाति” र “नेपियन जाति”थिए। तिनै जातिहरूको युवा,युवतिहरूको बिचमा प्रेम परेको थियो।
“कटुम्बा“ जातिका सुन्दर र जवान तीन युवतीहरू र “नेपियन” जातिका जवान तीन युवाहरू बिचमा चलेको प्रेमलाई विवाहमा परिणत गर्न “कटुम्बा“ जातिको प्रचलनले नदिए पछि। “नेपियन“ जातिका युवाहरू खुसी भएनन्। उनीहरूले बल प्रयोग गरेर कब्जा गरेर लानु पर्छ भन्ने निर्णय लिए । “कटुम्बा“ जातिहरूले “नेपियन” युवाहरू बाट ती सुन्दर र जवान युवतीहरूलाई जोगाउन पर्छ भन्ने लाग्यो र जोगाउने क्रममा एक जना बोक्सी चिकित्सक जसले जादुको हड्डीले मानव जीवनलाई पत्थर बनाउन र पत्थरबाट ब्यूताउन सक्छन् भन्ने थियो र उनले ती युवतीहरूलाई “नेपियन” जातिका युवाबाट जोगाउन पत्थर बनाइदिए।
युद्ध भइरह्यो ,युद्धमा बोक्सी चिकित्सकको पनि मृत्यु भयो। बोक्सी चिकित्सक तिनै तीन युवतीहरूको बाबु थिए। छोरीहरूलाई पत्थर बनाएर जोगाउने र युद्ध समाप्त भए पछि ब्युँताउने बाबुको सपना मृत्युसँगै समाप्त भयो। तिनै पत्थर भएर बुत्याउन नपाएर पत्थर बनेका युवतीहरूको प्रतिकका रूपमा रहेका पत्थरका तीन पहाड अर्थात् “थ्री सिस्टर” आज चुपचाप जेमिसन भ्याली हेरेर बसिरहेका छन्।
तीन दिदीबहिनीको चरित्र दिनभरि र मौसमहरूमा परिवर्तन हुन्छ किन भने सूर्यको किरणले भव्य रङ्गहरू ल्याउँछ टल्किन्छन्, सुनौलो रङ्ग भरिदिन्छ। हरेक साँझ करिब ११ बजेसम्म रातमा आकाशको कालो पृष्ठभूमिमा बसेर हेर्दा सूर्यका
रमणीय किरणहरू देखिएसम्म फ्लडलाइटले दिने उज्यालो जस्तै हुन्छ। थ्री सिस्टर ले प्रत्येक दिन र प्रत्येक सिजनमा कलर परिवर्तन गरिरहन्छ।
“सर हेनरी पार्क”
“सर हेनेरी पार्क” सर हेनेरी पार्कको सम्मानमा बनाइएको ऐतिहासिक महत्त्व बोकेको पार्क हो
ब्लु माउन्टेन यात्रामा जाने जो कोहीले पनि “सर हेनेरी पार्क “को दृश्यावलोकन नगरी फर्कँदैनन्। मूल सडकको जाँदा दायाँ र फर्किदा बायाँ पर्ने सर हेनेरी पार्कले त्यो क्षेत्रको शोभा बढाउनुका साथै पर्यटन व्यवसायलाई पनि बढवा दिन पनि महत्त्वपूर्ण भूमिका रहेछ। भने सर हेनरी पार्कको आफ्नो बस्ने गाऊँ “पेनरिथ “पनि त्यसै क्षेत्रमा भएकोले पनि उनको संस्मरणमा पार्क निर्माण गरिएको रहेछ।
“सर हेनरी पार्क”को प्रारम्भिक जीवन यसरी बितेको रहेछ कि उनले प्रत्येक दैनिकीका लागि संघर्ष गरिरहनु पर्ने अवस्था रहेछ जब उनी अस्ट्रेलिया माइग्रेन भए त्यस पछि उनको जीवनमा ठुलो परिवर्तन आएको देखिन्छ। उनी बेलायतमा मे २७ , १८१५ मा जन्मिएका थिए। उनले पहिलो विवाह बेलायतमा नै गरेर पाँच सन्तानको जन्म दिए पछि अस्ट्रेलिया माइग्रेन भएका “सर हेनेरी पार्क”ले पुन अर्को विवाह गरे र सात सन्तानको जन्म दिएका थिए। सामान्य पढाइ भएका उनले कविता लेख्ने काम समेत गरेका थिए। आफ्नो दैनिकी चलाउन रोड डिपार्टमेन्टमा समेत काम गरेका थिए। जब उनले राजनीतिको बाटो समय तब उनी अस्ट्रेलियाका मूर्धन्य राजनीतिज्ञका रूपमा चिनिएका रहेछन्। उनले कोलोनाइज न्यूसाउथ वेयल्सको १८७२ देखि १८९१ सम्म पाँचौँ पटक प्रतिनिधित्व गरेका रहेछन्। १९ औ शताब्दीको उत्तरार्ध तिर उनलाई न्यूसाउथवेल्सको सांसदले “फादर अफ अस्ट्रेलियन फेडेरेसन”को उपाधिबाट सम्मान गरेको रहेछ। १८९१ मा भएको संविधान सभाको निर्वाचनमा पराजय भएका “सर हेनरी पार्क”को निधन ८० वर्षको उमेरमा अप्रिल २७, १८९६ मा पेनरिथमा भएको रहेछ।
“कटुम्बा फल्स”
ब्लु माउन्टेन नेस्नल पार्क विश्व सम्पदा सूचिमा सूचिकृत प्राकृतिक सम्पदा रहेछ। ब्लु माउन्टेन नेस्नल पार्क पुगे पछि कटुम्बा फल्स देख्न सकिन्छ। ब्लु माउन्टेनको तल्लो भागमा पुग्न एक घण्टाको “वाक वे” पार गर्नु पर्छ। २३० मिटर अग्लो फल्स जेमिनस उपत्यकामा रहेको छ। धेरै वाटर फल्सहरूको तुलनामा कटुम्बा फल्स त्यति अग्लो छैन। तर हेर्दा भने बडो सुन्दर देखिन्छ। संसारका अग्ला फल्सहरूमा समेत नपर्ने कटुम्बा फल्स विश्व सम्पदा सूचि भित्रको सूचि हो। त्यसैले यसको महत्त्व रहेको छ।
ब्लु माउन्टेन पुग्ने जो कोहीले यो फल्सको दृश्यावलोकन गरेकै हुन्छ। “चार वे” मध्येको “वाक वे” यसैका लागि तयार गरिएको “वे” हो। त्यहाँ मानिसहरू पुग्छन् र आनन्द लिएका हुन्छन्। अस्ट्रेलियामा कटुम्बा फल्स भन्दा अग्ला र सुन्दर फल्सहरू पनि रहेछन्। ती फल्सहरू संसारका अग्ला फल्सहरूकै हाराहारीमा भए पनि मानिसहरूको नजर पुग्न सकेको रहेनछ। संसारका राम्रा र अग्ला फल्सहरूको बिसौँ नम्बर भित्र सम्म नपर्ने कटुम्बा फल्सको महत्त्व अरूको भन्दा धेरै छ।
संसारका अग्ला दश“वाटर फल्स” भित्रको सूचिमा“नियाग्राफल्स “पर्ने रहेछ। सुन्दरतामा क्रोएसिया पछि नियाग्रा फल्सको नाम आउने रहेछ भने ठुलो वाटर फल्समा एक नम्बरमा पर्ने रहेछ। यद्यपि यो फल्स हेर्न र आनन्द लिन संसारभरबाट मानिसहरू पुग्ने गरेका छन्।
अग्लोमा भने डेनमार्क पहिलो मा पर्ने रहेछ भने दक्षिण अफ्रिकाको टुङ्गेला फल्स दोस्रो, भेनेजुएलाको एन्जलस फल्स तेस्रो ब्राजिलको इगुआजु फल्स चौथो नम्बरमा पर्ने रहेछ। नियाग्रा फल्स भने पाँचौँ नम्बरमा पर्ने रहेछ। कटुम्बाफल्स भन्दा पनि अग्ला वाटर फल्स अस्ट्रेलिया भित्र अरू पनि छन्। तर कटुम्बा फल्स पहिलो त विश्व सम्पदा सूचिमा परेको ब्लु माउन्टेन नेसनल पार्क भित्र परेकोले र चर्चित “थ्री सिस्टर”को जेमिनस उपत्यका भित्र पर्ने भएकोले पनि कटुम्बा फल्सको महत्त्व बढेको रहेछ।
र यो पनि…
भ्रष्ट देशमा नेपाल चौतिस नम्बरमा