अमेरिकामा बामाको वार्षिक साधारण सभा: ‘नेपाली भाषी भुटानी साङ्गीतिक क्षेत्रलाई विश्वव्यापीकरणमा जोड’
सहयात्री ढकाल
पिट्सवर्ग,पेन्सिलभेनिया/ नेपाली भाषी भुटानी साङ्गीतिक क्षेत्रलाई विश्वव्यापीकरण गर्ने अठोट सहित भुटानी अमेरिकन साङ्गीतिक संघ (बामा) को वार्षिक साधारण सभा अमेरिकामा सम्पन्न भएको छ।
पेन्सिल्भेनियाको पिट्सबर्गमा डिसेम्बर नौ तारिख शनिवार बामाका अध्यक्ष खेम रिजाल (ऊर्जा) को सभापतित्वमा सम्पन्न वार्षिक साधारण सभामाले यस्तो अठोट लिएको हो।
आयोजक समितिका संयोजक बलराम गुरुङका अनुसार साधारण सभामा अमेरिकाका विभिन्न राज्यका पचास भन्दा बढी स्रष्टाहरूको सहभागिता रहेको थियो।
बामाका सचिव बिष्णु रामदामले सञ्चालन गरेको साधारण सभामा अध्यक्ष खेम रिजाल (ऊर्जाले ) वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। यस्तै कोषाध्यक्ष सुचिता गुरुङद्वारा आर्थिक गतिविधिको प्रतिवेदन प्रस्तुत गरिएको थियो।
रामदामका अनुसार दोस्रो चरणको अन्तरक्रियामा विशेष गरी बामाका भावी योजना र सङ्गठन विस्तारका बारेमा छलफल भएको थियो। ‘बामालाई कसरी अगाडि बढाउन सकिन्छ र सदस्यता कसरी बढाउने भन्ने विषयमा गहन छलफल भयो।’ सचिव रामदामले समाज टाइम्स सँग भने।
बामाका उपाध्यक्ष अर्जुन रसाइलीका अनुसार सभामा विशेष गरी नेपाली भाषी भुटानी साङ्गीतिक क्षेत्रलाई कसरी विश्वव्यापी करण गर्न सकिन्छ र आगामी दिनहरूमा यसको दायरा कसरी फराकिलो बनाउने भन्नेमा छलफल भएको थियो।
‘यो चुनौती पूर्ण अवस्थामा बामाद्वारा नेपाली भाषा, साहित्य र सङ्गीतलाई कसरी प्रवर्द्धन गर्ने र यसलाई विश्वव्यापीकरण कसरी गर्ने भन्ने विशेष छलफल भयो।’ रसाइलीले भने।’हामीले हाम्रो साङ्गीतिक क्षेत्रलाई विश्वव्यापी गर्नेमा जोड दिने निर्णय गर्यौ।’
छलफलमा पूर्व अध्यक्ष अध्यक्ष विकास थुलुङ राई, अग्रज सङ्गीतकार रत्न गुरुङ, बलराम गुरुङ, चलचित्र क्षेत्रबाट नायक केदार उप्रेती, सङ्गीतकार अम्बर तुम्बाफो सुब्बाले आ आफ्नो धारणा राखेका थिए।
यस अगाडि चरण बजगाईँको स्वगत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गायक किरण गजमेर, ईन्द्रवती क्रिएसनका सुदन राई, समाजसेवी गणेश प्रधान र दधि सुबेदी लगायतको सहभागिता रहेको थियो।
‘बामा’ नेपाली भाषी भुटानीहरूको साङ्गीतिक संस्था हो । सन् २०१७ मा स्थापना भएको बामाले साहित्यिक,सांस्कृतिक,खेलकुद तथा चलचित्र क्षेत्रमा काम गर्दै आएको छ।
बामाले स्रष्टाहरूलाई सम्मान गर्नुका साथै उनीहरूको कृति प्रवर्धनमा सहयोग गर्दै आएको छ।
साधारण सभाको अन्त्यमा भ्वाइस अफ नेपाल सिजन तीनका विजेता गायक किरण गजमेर , गायक अर्जुन रसाइली, किशोर सिवाकोटी लगायतले आफ्नो संगितिक प्रस्तुति दिएका थिए।
कार्यक्रमको अन्त्यमा उपाध्यक्ष अर्जुन रसाइलीले साधारण सभामा उपस्थिति सबैलाई धन्यवाद ज्ञापन गर्दै समापन गरेका थिए।
फोटो सौजन्य इन्द्रावति क्रिएसन