‘गैर आवासीय नागरिकता वितरण सहज र कार्यान्वयनमा ल्याउन माग’
न्यु योर्क / अमेरिकामा रहेका नेपालीहरूको विभिन्न संस्थाका प्रतिनिधिले गैर आवासीय नेपाली नागरिकताको वितरण सहज बनाउन नेपाल सरकार सँग माग गरेका छन्।
यसै गरी उनीहरूले गैर आवासीय नागरिकता कार्यान्वयनमा पनि जोड दिएका छन्।
न्यु योर्कको लङ्गआइल्यान्ड क्षेत्रमा क्रियाशील संस्थाका अगुवाले महावाणिज्य दूत मार्फत गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाउँदै उनीहरूले यस्तो माग गरेका हुन्।
‘नागरिकता वितरण जुन सजिलो प्रकारले हुनु पर्थ्यो त्यो भएको छैन , नागरिकता प्राप्ति र वितरणको उद्देश्य विपरीत सबै प्रणाली झन्झटिलो बोझिलो छ ।’ ज्ञापन पत्रमा भनिएको छ।
यस्तै सम्बन्धित निकायमा जानकारी नहुँदा गैर आवासीय नागरिकता कार्यान्वयनमा समस्या आएको पनि ज्ञापन पत्रमा भनिएको छ।
‘गैर आवासीय नेपाली नागरिकता लिई सके पनि नेपाल सरकारले मालपोत,यातायात, शिक्षण संस्था र अन्य कार्यालय हरूमा यसको जानकारी समेत दिएको छैन यथासिध्र त्यो व्यवस्था मिलाउन अनुरोध गरिन्छ।’
ज्ञापन पत्रको पूर्ण पाठ
माननीय गृहमन्त्री ज्यू , गृह मन्त्रालय काठमाडौँ नेपाल ,
मार्फत श्रीमान् महावाणिज्य दूत , महावाणिज्य दूतावासको कार्यालय न्यु योर्क अमेरिका ।
विषय :~ गैह्र आवासीय नागरिकता सहज रूपमा उपलब्ध गराईयोस ।
माननीय मन्त्री ज्यू नेपाल सरकारको मिति २०८०/०२/१७ गतेको नेपाल राजपत्रमा प्रकाशित नेपाल नागरिकता (पहिलो शोधन) ऐन, २०७९ र नेपाल नागरिकता (दोस्रो संशोधन) नियमावली, २०८० लाई कार्यान्वयन भएको र नेपाल भरी सबै जिल्ला वाट गैह्र आवासीय नागरिकता वितरण भइरहेको छ ,जसका कारण हजारौँ गैर आवासीय नेपाली खुसी भएका छन् । तथापि नागरिकता वितरण जुन सजिलो प्रकारले हुनु पर्थ्यो त्यो भएको छैन , नागरिकता प्राप्ति र वितरणको उद्देश्य विपरीत सबै प्रणाली झन्झटिलो बोझिलो छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साबिकमा वंशजको जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको गैर आवासीय नेपाली ले नागरिकताको प्रमाणपत्रका लागि निवेदन लिनको लागि विविध कागजात लिई जान विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले आफूखुसी निर्देशन जारी गर्ने गरेको पाइएको छ ।
गैर आवासीय नेपालीको सहजताको लागि नागरिकता नियमावली र निर्देशिका बमोजिम हुनु पर्नेमा प्रहरी मुचुल्का लगायत अन्य आफूखुसी निर्देशन जारी गर्ने काम एन आर एन मैत्री छैन ।
दूतावास र वाणिज्यदुतावासले दिने गरेको पुरानो नेपाली नागरिकताको प्रमाण पत्र र मौजुदा पासपोर्टको आधारमा एन आर एन कार्ड उपलब्ध गरेझैँ गरी सहज रूपमा गैर आवासीय नागरिकता उपलब्ध हुने व्यवस्थाको लागि अनुरोध गर्दछौँ साथै गैह्र आवासीय नेपाली नागरिकता प्राप्ति पछि यो नागरिकतालाई अहिलेको नेपालको इमिग्रेसनले मान्यता दिएको छैन ।
हामीले नागरिकता लिई सके पछि त्यसका आधारमा नेपाली सरह भिसा लिनु न पर्ने प्रावधान गरिनु पर्छ । गैह्र आवासीय नेपाली नागरिकता लिनका लागि विदेश स्थित नेपाली कन्सुलेट बाट गैह्र आवासीय नेपाली परिचयपत्र लिएका व्यक्तिहरू लाई त्यसैको आधारमा नागरिकता दिई झन्झटिलो प्रक्रिया बाट सहजता बनाउनु पर्छ ।
गैह्र आवासीय नेपाली नागरिकता लिई सके पनि नेपाल सरकार ले मालपोत,यातायात, शिक्षण संस्था र अन्य कार्यालय हरूमा यसको जानकारी समेत दिएको छैन यथासिध्र त्यो व्यवस्था मिलाउन अनुरोध गरिन्छ।
भवदीय
वसन्त चापागाईँ
अध्यक्ष, लङ्ग लाइल्याण्ड नेपाली समाज
वेद प्रसाद खरेल
अध्यक्ष, आरके फाउन्डेसन
टिकाराज ढकाल
अध्यक्ष,सेन्ट्रल नासो नेपाली लाइन्स क्लब
विश्वराज बास्तोला
अध्यक्ष,विटी फाउन्डेसन,
शङ्कर राज भण्डारी
वोर्डमेम्वर टाउन अफ हेम्पस्टेड न्यु योर्क
एलिसावेथ ढकाल
अध्यक्ष, पार फाउन्डेसन
बाबुराम शर्मा
उपाध्यक्ष,अन्तर्राष्ट्रिय पर्वत समाज
विशाल रेग्मी
एनआरएन न्यु योर्क च्याप्टर
श्याम पौडेल
उपाध्यक्ष पर्वत सेवा समाज