इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको दुखेसो ‘काम गर्दा पनि जस दिएनन्’
ह्यारिसबर्ग,पेन्सिल्भेनिया/ इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिका (इन्ट्रा फाउन्डेसन) का अध्यक्ष डिल्ली अधिकारीले आफूहरूले देखाउनकै लागि समाज सेवा नगरेको बताएका छन्।
फाउन्डेसन द्वारा आइतबार पेन्सिल्भेनियाको ह्यारिसबर्षमा आयोजित ‘इन्ट्रा सांस्कृतिक’ कार्यक्रममा सम्बोधन गर्दै अधिकारीले समुदायका लागि राम्रो गर्दा गर्दै पनि आफूलाई जस नदिएको गुनासो गरे। ‘कति जनाले भन्नु हुन्छ इन्ट्रा फाउन्डेसनले देखाउनका लागि कार्यक्रम गर्छ, कतिले नाम कमाउन कार्यक्रम गर्छ भन्नु हुन्छ, कति जनाले इन्ट्रा फाउन्डेसनले यो गर्यो त्यो गर्यो, राम्रो गर्यो भन्नु हुन्न।’
दर्शकले खचाखच भरिएको हलमा उनले अब चैँ आलोचकहरूको आँखा खुल्नेमा आफू विश्वस्त भएको बताए। ‘आमा बुबा, साना नानीहरू यति उपस्थित भएर आफ्नो नेपालीपन जोगाउँदै गर्दा, आफ्नो भाषा र संस्कृति यस मञ्चबाट प्रस्तुत गर्दै गर्दा मलाई लाग्छ देखि देखि अन्धो हुनु भएका साथीहरूलाई पक्कै पनि आँखा खुल्यो होला भन्ने मैले विश्वास लिएको छु।’
अधिकारीले आफू जहिल्यै पनि समाजलाई शोषण गर्ने र खेलबाड गर्नेको विरुद्धमा रहेको बताए। ‘जीवनमा कसैले भ्रष्ट्राचार, समाजलाई शोषण, अन्याय र अत्याचार गर्छ भने तपाईँहरू मध्ये कति जना ठिमाइ (भुटान) बाट हुनुहुन्छ सानो उमेरमा सात आठ कक्षा पढ्दा देखि उनीहरू विरुद्ध आवाज उठाउने डिल्ली अधिकारी हो।’ उनले भने,’डिल्ली अधिकारीले कहिल्यै पनि समाजलाई शोषण गर्न जान्दैन,खेलबाड गर्न जान्दैन।’
अधिकारीले नेपाली भाषा र संस्कृतिको संरक्षणका लागि आफूहरूले विभिन्न ठाउँमा कार्यक्रम गर्ने गरेको बताए।
‘सामाजिक सञ्जालमा हिजो पनि कार्यक्रम गरेको फेरि किन अर्को कार्यक्रम भन्ने प्रश्न उठ्छ।’ अधिकारीले भने,’नेपाली भाषा, संस्कृति र मौलिकतालाई प्रस्तुत गर्न एउटा मञ्च बनोस्, उहाँहरूले सिकेको कुरा देखाउन एउटा अवसर मिलोस् भनेर साना साना नानीहरूका लागि कार्यक्रम गरी रहेका छौ, इन्ट्रा फाउन्डेसनले कसैलाई देखाउन कार्यक्रम गरेको होइन।’
उनले संसारको जुन कुनामा पुगे पनि नेपाली भएर बाच्न पाउँ भन्ने नै आफूहरूको उद्देश्य भएको बताए।
‘हामी चाहन्छौ हाम्रो नेपाली पन सदैव जीवित राखोस्, हाम्रो संस्कार संस्कृति सदैव बाँची रहोस् हामी संसारको जुनसुकै कुनामा पनि नेपाली भएर बाच्न पाउँ, नेपाली पन र नेपाली मुटु बोकेर बाच्न पाउ।’
अधिकारीले भने, ‘गर्वका साथ हामी नेपाली भनेर हामी नेपाली जाती हौ भनेर भन्न पाउँ भन्ने एउटा उद्देश्यले हाम्रो संस्कार, हाम्रो संस्कृति र हाम्रो परम्परा हामीले जोगाउन पर्छ हाम्रो नानीहरूलाई सिकाउन पर्छ भन्ने इन्ट्रा फाउन्डेसनको उद्देश्य हो।’
उनले फाउन्डेसनले सात सय भन्दा बढी बालबालिकाहरूलाई नि:शुल्क शास्त्रीय सङ्गीत र नृत्य सिकाउने गरिएको बताए। अधिकारीका अनुसार पेन्सिल्भेनियाको ह्यारिसबर्ग, स्कन्टन र ल्यानक्यास्टरमा सङ्गीत र नृत्य कक्षा सञ्चालन हुँदै आएको छ।
कार्यक्रममा सम्बोधन गर्दै भुटानी कम्युनिटी ह्यारिसबर्गका अध्यक्ष तिलक निरौलाले डिल्ली अधिकारीको काममा आफूहरूको प्रतिबद्धता रहेको बताए।
‘केही समय अगाडी उहाँको सानो विवादित कुरा आउँदा यहाँ ठुलै कुरा भए, अर्गनाइजेशन बोल्नु पर्यो भनेर, ४०-५० जनाको जुममा बैठक बोलाइयो मैले त्यहाँ बोलेको हु, डिल्ली सर जस्तो मान्छेलाई हामीले संरक्षण गरेनौ भने, हाम्रो पहिचानको काम प्रति समर्थन गरेनौ भने इतिहासमा हामी नराम्रो गरी चुक्छौ भने पछि बैठक टुङ्गियो।’
निरौलाले फाउन्डेसनलाई सबैले सहयोग गर्नु पर्नेमा जोड दिए।
यस्तै गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडेले विचलित नभई काम गर्दै जान आग्रह गरे। ‘तपाईँहरूले जे गर्नु भएको छ ठिक गर्नु भएको छ, कसले के भन्छ भन्ने तिर नलाग्नु होला, काम गर्ने कै आलोचना हुन्छ।’
अध्यक्ष बन्जाडेले फाउन्डेसनको कामले भविष्यमा अमेरिकाबाट नेपालमा कलाकारको माग हुने परिस्थिति आउन सक्ने बताए।
‘म त एउटा सामान्य नाचगानको कार्यक्रम होला भन्ने सोचेर आएको थिए, तर तपाईँहरूले यति भव्य कार्यक्रम गर्नु भयो, साना नानीहरूलाई नेपाली कला संस्कृति सिकाउनु भएको छ, यो सङ्ख्या बढ्दै जाँदा भोलीका दिनमा नेपालबाट अमेरिका कलाकार ल्याउने होइन अमेरिकाबाट नेपालमा कलाकार माग हुने समय आउँछ।’
वरिष्ठ सङ्गीतकर्मी न्ह्यू बज्राचार्यले अमेरिकामा रहेका बालबालिकाले नेपाली गीत सङ्गीत र नृत्य सिकेर त्यसलाई कार्यक्रममा प्रस्तुत गरेकोमा आफू अचम्ममा परेको बताए।
‘बिस वर्ष भयो अमेरिका आउने जाने गरेको तर यहाँ जस्तो नेपाली संस्कृतिलाई माया गरेको मैले कहीँ देखिन्, बालबालिकाको प्रस्तुति देखेर मेरो आँखामा आशु नै आयो रुन्चे सङ्गीतकार भन्छन् भनेर मैले लुकाए।’ बज्राचार्यले भने।
कार्यक्रममा पेन्सिल्भेनिया राज्य प्रतिनिधि (सांसद) डेभिड मैडसेन, प्याटी किम र जस्टिन फ्लेमिङले पनि सम्बोधन गरेका थिए। उनीहरूले फाउन्डेसनको कार्यको प्रशंसा गरेका थिए। नेपाली भाषी भुटानी समुदायको कारण आफ्नो क्षेत्रको व्यापार व्यवसायमा उल्लेख्य वृद्धि भएको बन्दै समुदायमा कुनै पनि समस्या भएमा आफूहरू सँग सम्पर्क गर्न आग्रह गरेका थिए।
फाउण्डेसनका निर्देशक ओम गुरुङले नेपाली भाषा, संस्कृति मानेका कारण नै भुटानबाट लखेटिएर आफ्नो पितृभूमि नेपाल पुग्दा शरणार्थी बन्न बाध्य हुनुपरेकाले अमेरिका आएर पनि आफ्नो नेपाली जातीय पहिचानलाई अघि बढाइरहेको जानकारी दिए।
इन्ट्रा फाउन्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिएका थिए।
कार्यक्रममा नेपालका वरिष्ठ गायक गायिका र नेपाली भाषी भुटानी समुदायका चर्चित कलाकारको समेत प्रस्तुती रहेको थियो।
कार्यक्रममा इन्ट्रा फाउन्डेसनको सञ्चालन गरेको कक्षामा नृत्य सिकेका बालबालिकाहरूले प्रस्तुति दिएका थिए। यस्तै नृत्य प्रशिक्षक शङ्कर बिसी र पार्वती राईले आफ्ना विद्यार्थीहरूको साथ लिएर मार्मिक गीति कथा प्रस्तुत गरेका थिए।
कार्यक्रममा न्ह्यू बज्राचार्य, काली प्रसाद बास्कोटा, प्रमिशा अधिकारीले प्रस्तुति दिएका थिए। यसै गरी कृष्ण कणेल, विमल डाँगी र निशा सुनुवारले लोक दोहोरो गाएका थिए।
त्यसैगरी गायक केशव पौडेल, मुस्कान मगर, जीवन गुरुङ र रुपेस उप्रतीले प्रस्तुति दिएका थिए। नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट सुरु भएको सो सांगितीक कार्यक्रममा स्थानीय कलाकारहरुले लोक तथा आधुनिक गीत, टप्पा र साकेला नृत्यसमेत प्रस्तुत गरेर नेपालको पहिचानलाई अमेरिकी नेपालीबीच प्रस्तुत गरेका थिए।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी अर्जुन दाहालले गरेका थिए।
इन्ट्रा फाउन्डेसनले विश्वभर रहेका नेपाली भाषीले भाग लिन पाउने गरी मेरो भ्वाइस कप र मेरो डान्स कपको काठमाडौँमा आयोजना गर्दै आएको छ।
कार्यक्रमका तस्वीहरु