‘टेककोर्पस्याक’ जित्ने नेपाली भाषी भुटानी अप्सना ओहायो सिनेट प्रेसिडेन्टबाट सम्मानित
सहयात्री ढकाल/
कोलम्बस,ओहायो/ ‘टेककोर्पस्याक’ मोबाइल एप्लिकेसन आइकन सिर्जनामा प्रथम भएकी नेपाली भाषी भुटानी युवती अप्सना बिस्वा ओहायो सिनेट प्रेसिडेन्टबाट सम्मानित भएकी छिन्।
सामाजिक अगुवा रोसन ह्युमका अनुसार टेककोर्पस्याक हाई स्कुलका विद्यार्थीहरूलाई वास्तविक संसारको आवश्यकता र त्यसलाई समाधान गर्ने उपाय सुल्झाउन मोबाइल एप विकास गर्न दिइने प्रतिस्पर्धा हो। जसका लागि १२ घण्टाको समय दिइन्छ।
नोभेम्बर ११ तारिखमा क्यापिटल युनिभर्सिटीमा दुई सय भन्दा बढी विद्यार्थीहरूले भाग लिएको सो प्रतियोगिता अप्सनाले जितेकी थिइन्। सोही उपाधि जिते बापत ओहायो सिनेट प्रेसिडेन्ट र हाउस अफ रिप्रेजेन्टेटिभ्सका अध्यक्ष जेसन स्टीफन्स र जिल्ला तीनका प्रतिनिधि सभा इस्माइल मोहम्मदले अप्सनालाई संयुक्त रूपमा सम्मान गरेका हुन्।
अप्सनाले सिर्जना गरेको मोबाइल एप्लिकेसन आइकनले कोलम्बस ब्लु फ्लाइटमा प्रथम स्थान प्राप्त गरेको हो।
डिसेम्बर ६ तारिख बुधवारका अप्सनाको प्रभावशाली उपलब्धिलाई ओहायो सिनेटका अध्यक्ष सिनेटर म्याट हफम्यानले मान्यता दिएका हुन्।
उनलाई ओहायो हाउस अफ रिप्रेजेन्टेटिभ्सका अध्यक्ष जेसन स्टीफन्स र जिल्ला तीनका प्रतिनिधि सभा इस्माइल मोहम्मदले पनि सम्मान गरेका हुन्।
सम्मान र पुरस्कार जिते पछि अप्सनाका बुबा प्रसाद गजमेरले खुसी व्यक्त गर्दै आफ्नो फेसबुक पेजमा लेखेका छन्, “एक अभिभावकको रूपमा धेरै गर्वको क्षण! अप्सनाले ओहायो जिल्ला सिनेटर विलियम पी. डामोर र जिल्ला प्रतिनिधि इस्माइल मोहम्मदबाट टेककोर्पस्याक २०२३ ह्याकाथन विजेतामा उत्कृष्ट उपलब्धिको लागि प्रशंसा र मान्यता प्राप्त गरिन।अप्सना तिमीलाई धेरै धेरै शुभकामना। हामीलाई अझ गर्व बनाउनुहोस्! धेरै हासिल गर्नको लागी।”
अप्सना बिस्वा भुटानकी पूर्व शरणार्थी हुन् जो नेपालको शरणार्थी शिविरमा जन्मिएकी हुन्। उनी सन् २०११ मा आमाबुवासँग बाल्यकालमा अमेरिका आएकी थिइन् ।
रेनोल्डसर्ग काउन्सिल सदस्य भुवन प्याकुरेलले पनि अप्सनाको उपलब्धिमा खुसी व्यक्त गरेका छन्।
‘उनको भाषा, संस्कृति र आस्था भुटानका राजाभन्दा फरक भएकाले उनका आमाबुवा र एक लाख भुटानी नागरिकलाई सन् १९९० मा राजाले हाम्रो देशबाट जबरजस्ती खेदेका थिए।’ प्याकुरेलले आफ्नो फेसबुकमा लेखेका छन्, ‘अप्सना भविष्यमा सूचना प्रविधि इन्जिनियर वा मेडिकल डाक्टर बन्न चाहन्छिन् । बधाई छ !!’
अप्सना हाल कोलम्बसमा बस्छिन् र उनी कोलम्बस अल्टेनेटिभ हाई स्कुलमा अध्ययनरत छिन् ।