माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरियो
काठमाडौं । मंसिर ७ गतेका दिन काठमाडौंको माइतीघर मण्डलामा दुई पक्षले एकै साथ प्रदर्शन गर्ने भएपछि काठमाडौं प्रशासनले त्यसक्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
मंसिर ७ मा एमालेको युवासंघ र दुर्गा प्रसाईको राजावादी समूहले प्रदर्शन गर्ने घोषणा गरेर तयारी गरे पछि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको जिल्ल सुरक्षा समितिको बैठकले सोमबारदेखि एक महिनासम्मका लागि उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ ।
त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
निषेधित क्षेत्र घोषणा भएसँगै यो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।