अमेरिकी राजदूतले बंगलादेश छाडे, सरकारले भन्यो दुर्भाग्यपूर्ण

ढाका । बंगलादेशका विदेश राज्यमन्त्री शहरयार आलमले अमेरिकी राजदूतले देश छाडेकोमा निराशा व्यक्त गर्दै यसलाई दुर्भाग्यपूर्ण भनेका छन् । बंगलादेशका लागि अमेरिकी राजदूत पिटर हासले बंगलादेश छोडेका छन् । बंगलादेशका केही नेताहरूले अमेरिकी राजदूतलाई धम्की दिएको खबर आएको छ ।
अमेरिकी राजदूत पिटर हासले बंगलादेशमा हुन लागेको आम चुनावमा हस्तक्षेप गरिरहेका थिए। यसबाट आक्रोशित बंगलादेशका केही नेताहरूले पिटर हासलाई धम्की दिएका थिए। तर, बंगलादेश सरकारले यी आरोपहरूलाई अस्वीकार गर्दै ‘देशसँग आफ्ना विदेशी पाहुनाहरूलाई सुरक्षा दिने पर्याप्त क्षमता रहेको बताएको छ। शहरयार आलमले बंगलादेशमा तैनाथ सबै राजदूतको हेरचाह गर्नु हाम्रो दायित्व भएको बताए ।
जबसम्म उनले बंगलादेशको हितको ख्याल राखेका छन्, उहाँको सुरक्षाको जिम्मेवारी हाम्रो हो र उनले धम्कीका कारण देश छाडेको खबर अफवाह मात्र हो । उहाँ कहाँ हुनुहुन्छ भन्ने हामीलाई थाहा छ तर उहाँको स्थानबारे जानकारी दिन सक्दैनौं। बंगलादेशी स्रोतलाई उद्धृत गर्दै अमेरिकी राजदूत पिटर हास हाल श्रीलंकामा रहेको बताइएको छ । यद्यपी यसबारे आधिकारिक रुपमा अहिलेसम्म कुनै जानकारी दिइएको छैन ।
बंगलादेशमा अर्को वर्ष जनवरीमा आम चुनाव हुन लागेको छ । निर्वाचनका कारण बंगलादेशमा तनावको वातावरण छ र हालै निर्वाचनलाई लिएर ढाकामा ठूलो मात्रामा हिंसा भड्किएको थियो ।
अमेरिकी राजदूत पिटर हासमाथि विपक्षी दल बीएनपीलाई समर्थन गरेको आरोप लागेको छ । हालै सामाजिक सञ्जालमा प्रधानमन्त्री शेख हसिनाको पार्टीका एक नेताको भिडियो पनि भाइरल भएको छ, जसमा उनी अमेरिकी राजदूतलाई धम्की दिइरहेका छन् । प्रधानमन्त्री शेख हसिनाले उक्त नेतालाई कारबाही गर्न आदेश दिएकी छन् ।