पेन्सिल्भेनिया गभर्नर कार्यालयमा मनाइयो ‘तिहार’, प्रस्तुत गरियो नेपाली मौलिक नृत्य
ह्यारिसबर्ग/ पेन्सिल्भेनिया गभर्नर कार्यालयमा तिहार तथा शुभ दीपावली पर्व मनाइएको छ। गभर्नर जस शापिरोको उपस्थितिमा विशेष कार्यक्रम सहित तिहार तथा शुभ दीपावली मनाइएको हो।
सोमवार साँझ ह्यारिसबर्ग स्थित स्टेट संग्रालयको हलमा आयोजित कार्यक्रममा नेपाली, नपाली भाषी भुटानी र भारतीय मूलका बाक्लो उपस्थिति रहेको थियो।
गभर्नरको सम्बोधन अगाडि तिहार गीतमा नेपाली पोसाकमा सहिएका युवती र बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए।
एसियाली अमेरिकी र प्यासिफिक आइल्याण्डर मामिलाहरूमा गभर्नरको सल्लाहकार आयोग (एएपीआई) का कार्यकारी निर्देशक रजिन कारुको उपस्थितिमा भएको कार्यक्रममा ब्लुमिङ लोटस डान्स स्टुडियोका पाँच जनाले सामूहिक तिहार नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा गभर्नर शापिरोले सम्बोधन गरेका थिए।
उनले पेन्सिल्भेनिया राज्यले सबै जातजातिको संस्कार, परम्परा र धर्मलाई सम्मान गर्ने बताए।
‘म सबैलाई दीपावलीको शुभ कामना दिन चाहन्छु, म सबैलाई तिहारको शुभ कामना दिन चाहन्छु जस जसले यो पर्व मनाउनु हुन्छ।’ सम्बोधनका क्रममा गभर्नर शापिरोले भने,’ साढे तीन शताब्दी लामो इतिहास भएको पेन्सिल्भेनियामा सबै आ आफ्नो धर्म मान्ने सुविधा छ।’
उनले पेन्सिल्भेनियामा दुई लाख भन्दा बढी दक्षिण एसियाली अमेरिकनको बसोबास रहेको भन्दै को कहाँ बाट आएको भन्दा पनि सबैलाई न्यानो स्वागत गर्ने बताए।
सम्बोधन पछि गभर्नरले व्यक्ति व्यक्ति सँग साक्षात्कार गरेका थिए। उनले नेपाली भेसभुसामा सजिएका बालिकाहरूको पोसाक र गहनाको बारेमा विशेष चासो राख्दै सामूहिक तस्बिर खिचाएका थिए।
कार्यक्रममा भुटानी कम्युनिटी ह्यारिसबर्षका अध्यक्ष तिलक निरौला सहितका पदाधिकारीको बाक्लो उपस्थिति रहेको थियो।
यसै गरी ह्यारिसबर्षमा रहेको दुवै मन्दिरका अध्यक्ष सहितका पदाधिकारी पनि कार्यक्रममा उपस्थित थिए।
एसियन रिफ्युजी युनाइटेड (एआरयुका) पदाधिकारी पनि कार्यक्रममा उपस्थित थिए। करिब दुई सय जनाको उपस्थिति रहेको कार्यक्रममा ५० जना भन्दा बढी नेपाली भाषी थिए।
कार्यक्रममा नृत्य गर्ने अवसर पाएकी ब्लुमिङ लोटस डान्स स्टुडियोकी सञ्चालिका निरु सिवाकोटीले आफ्नो लागि यो सुनौलो अवसर भएको प्रतिक्रिया दिइन।
‘यो हाम्रो लागि साँच्चिकै ठुलो अवसर हो।’ कार्यक्रम पछि निरुले समाज टाइम्स सँग भनिनन्, ‘त्यत्रो धेरै मान्छे, हामीले कल्पना पनि गरेका थिएनौ त्यत्रो ठुलो हस्तिहरू आउनु भएको छ, त्यत्रो समारोहमा नेपाली संस्कृति झल्काउने नृत्य देखाउन पायौ खुसी छौ।’