एसियाली खेलकुदमा रजत पदक जित्ने कराते खेलाडी एरिका सम्मानित

काठमाडौं । एसएस फाउण्डेसन, सामुदायिक सेवा केन्द्र तथा समुदायिक प्रहरीले १९औं एसियाली खेलकुदमा रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई सम्मान गरेको छ ।
दिपावली, नेपाल संवत ११४४ तथा छठ पर्वको पावन अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा एरिकालाई सम्मान गरिएको हो । एसियाली खेलकुदको करातेमा नेपालका लागि एरिकाले जितेको रजत पहिलो हो ।
उक्त कार्यक्रममा राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जबराले दिपावली, छठ तथा नेपाल सम्वत्को शुभकामना दिँदै रजत पदक प्राप्त गरेकी एरिका गुरुङको अझै बढी सफलताका लागि कामना गरे ।
उनले भने, ‘भर्खर १९ वर्ष हुँदा यतिको प्रगति गर्नुभएको छ, उहाँको सफलतामा हामी सबैले गौरव गरेका छौ । नेपालले अरु क्षेत्रमा धेरै केही गर्न नसके पनि खेल क्षेत्रमा विशेष सफलता हासिल गरोस् र जलस्रोतमा भएको सम्भावना र सफलता यो तिहारमा मात्रै होइन्, हरेक पर्वमा नेपाललाई उज्यालो पारोस्, नेपालीलाई सुखद् पारोस् ।’
करातेकी खेलाडी एरिका गुरुङले आफूले हासिल गरेको जित पहिलो देशको र त्यसपछि आफ्नो भएको बताइन् ।
उनले भनिन्, ‘गएर नेपाललाई चिनाउन पाउँदा एउटा बेग्लै नै अनुभव भएको थियो, त्यो सायद म बयान पनि गर्न सक्दिन । आजको यो सम्मानले मेरो मात्र होइन, पूरा खेलप्रेमीहरुको मनोबल बढेको छ । मेरो जितमा पहिला मेरो देशको नाम छ, त्यसपछि मात्रै मेरो हो ।’
रजत पदक एउटा पदकमात्रै नभई वर्षौदेखिको मेहेनतको फल भएको करातेका प्रशिक्षक कुशल श्रेष्ठले बताए । उनले अर्को पटक स्वर्ण पदक जितेर सम्मान लिने आशा गरेको पनि बताए ।