नेपाली भाषा कक्षाको सहयोगार्थ बानाको देउसी भैलो
मेरील्याण्ड/बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना)ले यस पटक पनि तिहारमा देउसी भैलो खेल्ने भएको छ।
बानाका अध्यक्ष सुबोध पन्तका अनुसार नेपालकै शैलीमा घर घरमा गएर देउसी भैलो खेलिने छ। ‘नोभेम्बर ११ तारिख बिहान दश बजे देखि साँझ सम्मा हामी बाल्टिमोरमा रहेका नेपालीको घर घरमा गएर देउसी भैलो खेल्छौ।’ समाज टाइम्स सँगको कुराकानीमा अध्यक्ष पन्तले भने।
नेपालमा जन्मिएर सानैमा अमेरिका आएका र यतै जन्मिएकाहरूलाई मौलिक देउसी भैलो कसरी खेलिन्छ भनेर देखाउन पनि घर दैलोमा पुगेर देउसी भैलो खेल्ने कार्यक्रम तय गरिएको अध्यक्ष पन्तले बताए।
‘बानाको कार्यालयमा सामूहिक रूपमा नै देउसी भैलो खेल्नु पर्छ भन्ने भनाइहरू नआएको होइन तर हाम्रो उद्देश्य नेपाली कला र संस्कृतिको जगेर्ना गर्नु पनि हो। हामीले एउटा हालमा मात्र देउसी भैलो खेल्यो भने दोस्रो पुस्तालाई हाम्रो खास परम्परा हस्तान्तरण गर्न सक्दैनौ भन्ने भएर घर घरमा जाने लागेका हौ।’ उनले भने।
बाल्टिमोरमा नेपालीका हजारौँ घर रहेकाले सबैको घर दैलोमा पुग्न असम्भव भएकाले टोलको एक ठाउँमा देउसी भैलो खेलिने छ।
‘मान्छे धेरै हुन्छन्, सबैको घरमा ठाउँ अपुग हुन सक्छ त्यसैले हामीले आठ देखि दश ठाउँमा देउसी भैलो खेल्ने योजना बनाएका छौ।’ पन्तले भने।
पन्तका अनुसार देउसी भैलोमा प्राप्त दान बानाले सञ्चालन गर्दै आएको नेपाली भाषा कक्षा सञ्चालनका लागि खर्च हुने छ।
बानाले निःशुल्क सञ्चालन गरेको भाषा कक्षामा झन्डै एक सय विद्यार्थी छन्। भाषा कक्षामा सहभागी विद्यार्थीहरूलाई स्टेशनरी सामाग्री पनि बानाले उपलब्ध गराउँदै आएको अध्यक्ष पन्तको भनाई छ।