विश्व कपमा छनोट भएका क्रिकेट खेलाडीले १३ लाख पाउने
काठमाडौ/ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अमेरिका र वेस्ट इन्डिजले २०२४ मा संयुक्त आयोजना गर्ने विश्व कप टी–२० क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ ।
राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो ।
१५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ ।
प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफारिस गरिएको छ । गत आइतबार सम्पन्न आईसीसी पुरुष टी– २० विश्व कपको एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै नेपालले विश्व कपमा स्थान पक्का गरेको थियो ।
फोटो: क्यान