सात हजार विदेशीलाई गाजाबाट इजिप्टमा प्रवेश गर्न दिइने
काएरो । इजिप्टले छिमेकी गाजा पट्टीबाट करिब सात हजार विदेशी नागरिकलाई उद्धार गर्न सहयोग गर्ने जनाएको छ ।
इजिप्टको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै गाजामा फसेका विदेशी नागरिकलाई उद्धार गर्न इजिप्ट तयार रहेको जानकारी गराएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।इजिप्टका सहायक विदेशमन्त्री इस्माइल खैरातले बुधबार कायरोमा विदेशी राजदूत र कूटनीतिज्ञहरूसँग भेट गरी गाजामा मानवीय सङ्कट कम गर्न र राफा क्रसिङमार्फत विदेशी नागरिकहरूको प्रस्थानमा सहयोग पुर्याउन इजिप्टले गरिरहेको प्रयासबारे बताएका थिए ।
गाजामा रहेका ६० भन्दा बढी देशका करिब सात हजार विदेशी नागरिकलाई सङ्केत गर्दै खैरातले गाजाबाट विदेशी नागरिकको स्वागत र उद्धारका लागि इजिप्ट तयार रहेको बताएका हुन् ।
इजिप्ट र प्यालेस्टिनी क्षेत्रबीचको एक मात्र सीमा नाका राफामा हालै इजरायलले गाजामा गरेको घेराबन्दी सुरु भएयता पहिलो पटक बुधबार सयौं विदेशी राहदानीधारी र दशौं घाइते प्यालेस्टिनीलाई गाजाबाट इजिप्टका अस्पतालमा उपचार गर्न लगिएको द गार्जिएनले खबर लेखेको छ ।