रिगलको कैद मिनाहा सर्वोच्चद्वारा बदर

काठमाडौं । जन्मकैदको सजाय पाएका योगराज ढकाल उर्फ रिगललाई सरकारले दिएको आममाफी सर्वोच्च अदालतले बदर गरेको छ । अदालतले रिगललाई तत्काल पक्राउ गरी थुनामा पठाउन आदेश समेत दिएको छ ।
आज सर्वोच्चको पूर्ण इजलासका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालले रिगललाई आममाफी दिने विरुद्धको मुद्दामा फैसला गर्दै उनलाई पुनः थुनामा पठाउन आदेश दिएको हो ।
गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको बाँकी कैद सजाय मिनाहा गरेका थिए । त्यसविरुद्ध पीडित पक्ष भारती शेर्पा मानन्धरले सर्वोच्चमा रिट हालेकी थिइन् । अदालतले भारतीको पक्षमा फैसला गर्दै सरकारको निर्णय बदर गराइदिएको हो ।