राष्ट्रसंघका महासचिव गुटेरेसले मंगलबार संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने
काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसदका दुवै सदनलाई संयुक्तरुपमा सम्बोधन गर्ने भएका छन् ।
चार दिने भ्रमणका क्रममा शनिबार राति आइपुगेका गुटेरेसले आइतबार दिनभरी राजनीतिक भेटवार्ता गरेका थिए । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठसहित सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका थिए ।
हरेकसँगको भेटवार्तामा उनले जलवायु परिवर्तनले पारेको असर र संक्रमणकालीन न्यायको विषयमा चासो राखेका थिए ।
सोमबार सगरमाथा आधार शिविरको पनि भ्रमण गरेका छन् । यसैगरी पोखराको भ्रमण गरेर काठमाडौं आएका गुटरेसले मंगलबार संसद भवनमा सम्बोधन गर्ने भएपछि संसद सचिवालयले पनि त्यसको तयारी गरेको छ ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले महासचिव गुटेरेसले गर्ने सम्बोधनका लागि सचिवालयले तयारी अन्तिम चरणमा पुराएको बताउँदै सबै काम मंगलबार विहान सकिने बताएका छन् । मंगलबार विहान १० बजेसम्म तयारीको काम पूरा हुने पनि बताए । गुटेरेसले ४ बजे सम्बोधन गर्ने तालिका रहेको छ ।