गठनबन्धन सबै दललाई सहभागी गराए कोशी प्रदेश सरकार छाड्छौं : एमाले

काठमाडौं । गत असोज २७ गते एमालको समर्थनमा नेपाली कांग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री बनेका थिए । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्नका लागि कार्कीले एमालेको समर्थन पाएका थिए ।
विश्वासको मत लिनेबेला उनलाई एमाले र केन्द्रको सत्तारुढ गठबन्धनको साथ पाएपछि दुई तिहाई बढीको समर्थन पाएका थिए । तर, उनले अझैं मन्त्रिपरिषद् विस्तार भने गर्न सकेका छैनन् ।
कार्कीले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रदेश सरकार विस्तारबारे छलफल गरेका छन् । उनले खासगरी एमालेसँग मन्त्रिपरिषद्विस्तारबारे छलफल गरेका हुन् । मन्त्रिपरिषद् विस्तारबारेको छलफलका लागि नेकपा एमाले कोशी प्रदेश सभाका प्रमुख सचेतक रेवतीरमण भण्डारी पुगेका थिए ।
माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीमध्ये कुनै एकलाई सामेल गरेर मन्त्रीपरिषद् बिस्तार गर्नेबारे छलफल गरिएको एमालेका प्रदेश संसदीय दलका प्रमुख सचेतक भण्डारीले बताए ।
सत्तारुढ गठबन्धनमा आबद्ध सबै दललाई सरकारमा सहभागी गराए आफ्नो पार्टी सरकारमा बस्न नसक्ने अडान आफूले बैठकमा राखेको एमाले प्रमुख सचेतक भण्डारीले बताए ।
प्रमुख सचेतक भण्डारीले भने ‘माओवादी, जसपा, एकीकृत समाजवादी तीन वटालाई सामेल गर्ने अनि हामी पनि त्यही बस्ने कुरा चाही हामीले हुँदैन भनेका छौँ ।’
कांग्रेसले पनि गठबन्धन भित्रको कुनै एक दललाई सहभागी गराएर सरकार बिस्तार गर्न सकिने धारणा राखेको बैठकमा सहभागी कांग्रेस सांसद शमशेर राईले बताएका छन् ।