ट्रम्प प्रशासनको यो साता : ज्येष्ठ नागरिकलाई ९० डलर,अहिलेसम्मकै ठूलो स्टिल उद्योग खोल्ने
वासिङ्टन डीसी / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २ करोडभन्दा बढी मेडिकेयर लाभग्राहीलाई एकपटक ९० डलर उपलब्ध गराउने घोषणा गरेका छन्। यसैबीच, अमेरिकाको इतिहासकै ठूलो स्टिल उद्योग स्थापना गर्ने, खानीसम्बन्धी नीतिमा परिवर्तन गर्ने र कंग्रेसका सदस्यको सेयर कारोबारमा प्रतिबन्ध लगाउने विधेयकसम्बन्धी राजनीतिक विवाद पनि यस साता चर्चामा रहे।
ह्वाइट हाउसले सार्वजनिक गरेको अक्टोबर २ सम्मको साप्ताहिक विवरणअनुसार, ट्रम्पले अक्टोबर २ मा मेडिकेयर पार्ट बी प्रिमियम तिर्न सहयोग पुर्याउने उद्देश्यले २ करोडभन्दा बढी ज्येष्ठ नागरिक तथा अन्य योग्य लाभग्राहीलाई एकपटक ९० डलर उपलब्ध गराउने घोषणा गरेका हुन्।
ह्वाइट हाउसका अनुसार, मेडिकेयर इम्प्रुभमेन्ट फन्डबाट प्रत्यक्ष रूपमा लाभग्राहीलाई रकम उपलब्ध गराउने यो पहिलो अवसर हो। अधिकांश योग्य व्यक्तिले अक्टोबरको सुरुमै बैंक खातामा रकम प्राप्त गर्नेछन् भने प्रत्यक्ष भुक्तानीको व्यवस्था नभएकाहरूलाई चेक पठाइनेछ। आफ्नो योग्यता जाँच गर्न लाभग्राहीले १–८००–मेडिकेयरमा सम्पर्क गर्न सक्नेछन्।
यसैगरी, सेप्टेम्बर २८ मा ट्रम्पले आयोवाको ली काउन्टीमा १५ अर्ब डलरको स्टिल उद्योग स्थापना गर्ने मेसाबी मेटालिक्सको योजना सार्वजनिक गरेका थिए। ह्वाइट हाउसका अनुसार, यो अमेरिकामा निर्माण हुन लागेको अहिलेसम्मकै ठूलो स्टिल उद्योग हुनेछ।
उक्त परियोजनाबाट १ हजार ७५० स्थायी रोजगारी सिर्जना हुने र निर्माण अवधिमा ६ हजारसम्म रोजगारी उपलब्ध हुने अनुमान गरिएको छ। निर्माण तथा सञ्चालनको पहिलो दशकमा यसले अमेरिकी अर्थतन्त्रमा करिब ९५ अर्ब डलर योगदान पुर्याउने दाबी गरिएको छ।
स्टिल उद्योगको योजनासँगै ट्रम्पले अमेरिकी खानी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत परिवर्तन अघि बढाएका छन्। मिनेसोटाको आइरन रेन्जबाट प्राप्त हुने फलामको अयस्कलाई आयोवामा स्टिल उत्पादनसँग जोडेर खानीदेखि उद्योगसम्मको अमेरिकी आपूर्ति शृंखला विकास गर्ने लक्ष्य राखिएको ह्वाइट हाउसले जनाएको छ।
सेयर कारोबारसम्बन्धी विधेयकमा राजनीतिक विवाद
अमेरिकी कंग्रेसका सदस्यले व्यक्तिगत सेयर खरिद गर्न पाउने व्यवस्थामा प्रतिबन्ध लगाउने प्रस्तावले पनि राजनीतिक बहस सिर्जना गरेको छ।
सेप्टेम्बर ३० मा सिनेटमा प्रस्तुत ‘स्टप इनसाइडर ट्रेडिङ एक्ट’ विरुद्ध सबै डेमोक्रेटिक सिनेटरले मतदान गरेको ह्वाइट हाउसको विवरणमा उल्लेख छ।
उक्त विधेयकले कंग्रेसका सदस्य, उनीहरूका पति वा पत्नी तथा आश्रित सन्तानलाई व्यक्तिगत कम्पनीका सेयर खरिद गर्न प्रतिबन्ध लगाउने प्रस्ताव गरेको थियो। राष्ट्रपति ट्रम्पले यसअघि आफ्नो स्टेट अफ द युनियन सम्बोधनमा पनि यस्तो प्रतिबन्धको पक्षमा आवाज उठाएका थिए।
ह्वाइट हाउसले सार्वजनिक गरेको विवरणमा करिब ९० प्रतिशत अमेरिकी नागरिक कंग्रेसका सदस्यको सेयर कारोबारमा प्रतिबन्ध लगाउने पक्षमा रहेको उल्लेख छ। विधेयकमा मतदानका लागि फोटो परिचयपत्र अनिवार्य गर्ने प्रावधानसमेत समावेश थियो।
समाजवादी नीतिको लागत ४९ ट्रिलियन डलर हुने दाबी
ट्रम्प प्रशासनको आर्थिक सल्लाहकार परिषद्ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले डेमोक्रेटिक सोसलिस्ट्स अफ अमेरिकाका प्रमुख नीतिहरू लागू गर्दा आगामी १० वर्षमा अमेरिकी करदातामाथि ४९ ट्रिलियन डलर बराबरको खर्च भार पर्न सक्ने अनुमान गरेको छ।
‘द रियल कस्ट अफ सोसलिज्म इन अमेरिका’ शीर्षकको प्रतिवेदनअनुसार, उक्त रकम प्रतिपरिवार ३ लाख ५० हजार डलरभन्दा बढी हुन आउँछ।
ह्वाइट हाउसले यस्तो खर्च उच्च कर, मूल्यवृद्धि र रोजगारी गुम्ने अवस्थाबाट उत्पन्न हुन सक्ने दाबी गरेको छ। यद्यपि, यो ट्रम्प प्रशासनको आर्थिक सल्लाहकार परिषद्ले प्रस्तुत गरेको अनुमान हो। यसलाई स्वतन्त्र रूपमा स्थापित आर्थिक तथ्यका रूपमा लिन मिल्दैन।
सरकारी सेवा सहज बनाउनेदेखि ऊर्जा नीतिसम्म
सेप्टेम्बर २९ मा ट्रम्पले अमेरिका डट गभमार्फत सरकारी सेवामा नागरिकको पहुँच सहज बनाउने उद्देश्यले कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यसबाट संघीय सरकारी सेवासम्बन्धी जानकारी प्राप्त गर्न र सेवा उपयोग गर्न सजिलो हुने प्रशासनको अपेक्षा छ।
त्यस्तै, ट्रम्प प्रशासनले बाइडेनकालीन इन्धन अर्थतन्त्रसम्बन्धी नियमहरू अन्त्य गरेको जनाएको छ। यसबाट नयाँ सवारीसाधनको मूल्य औसतमा १ हजार ३०० डलरसम्म घट्न सक्ने प्रशासनको दाबी छ।
अमेरिकी ऊर्जा सूचना प्रशासनले सन् २०२६ र २०२७ का लागि अमेरिकी तेल उत्पादनको पूर्वानुमानसमेत बढाएको छ।
चीनसँगको व्यापार विस्तारका लागि नयाँ ‘यूएस–चाइना बोर्ड अफ ट्रेड’ अघि बढाइएको छ। यसै साता ट्रम्पले कलेज खेलकुद संरक्षणका लागि कंग्रेसलाई आह्वान गर्नुका साथै एस. २३९८ विधेयकमा हस्ताक्षर गरी कानुन बनाएका छन्।
अमेरिकामा नयाँ लगानीको घोषणा
ह्वाइट हाउसको विवरणअनुसार, सेप्टेम्बर २८ देखि अक्टोबर ४ सम्मको एक सातामा अमेरिकामा १६ अर्ब ८० करोड डलर बराबरका नयाँ लगानी घोषणा भएका छन्।
यस अवधिमा मेसाबी मेटालिक्सले १५ अर्ब डलर, पिरेलीले १ अर्ब २० करोड डलर, मर्कुरियाले ५० करोड डलर, हान्से मोबिलिटी यूएसए म्यानुफ्याक्चरिङले ९ करोड ३२ लाख डलर र टोयोटेत्सु मिड अमेरिकााले ४ करोड १० लाख डलर लगानी घोषणा गरेका छन्।
ह्वाइट हाउसले ट्रम्प प्रशासनको कार्यकाल सुरु भएदेखि हालसम्म अमेरिका तथा विदेशी लगानी गरी कुल ११.३ ट्रिलियन डलर बराबरको लगानी प्रतिबद्धता आएको दाबी गरेको छ।
यसैबीच, ट्रम्पले राष्ट्रिय उत्पादन दिवसको घोषणा गरेका छन्। अक्टोबरलाई राष्ट्रिय साइबर सुरक्षा सचेतना महिना, घरेलु हिंसा सचेतना महिना तथा स्तन क्यान्सर सचेतना महिनाका रूपमा पनि मान्यता दिइएको छ।
प्रथम महिला मेलानिया ट्रम्पले सन् २०२६ का लागि ह्वाइट हाउसको शरदकालीन गार्डेन टुरको घोषणा गरेकी छन्।

















