एनआरएनए : छानविनका लागि बद्री केसीको प्रस्ताव, आरकेले भने ‘साथीसँग सल्लाह गरेर भन्छु’
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएभित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष डा. बद्री केसीले पहल थालेका छन् । ११ औं महाधिवेशन पछि एनआरएनभित्र विवाद देखिएको छ ।
भेरोले नेपाल र नेपालबाहिरबाट एकै साथ गराएको अनलाइन मतदानको नतिजालाई लिएर अहिले दुई पक्षमा एनआरएनए विभाजित भएको देखिएको छ । औपचारिकरुपमा विभाजित नभए पनि डा. केसी निर्वाचित कार्यसमितिको रुपमा पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।
निर्वाचन प्रक्रियामा असन्तुष्ट रहेको अर्को समूहले आरके शर्मालाई अध्यक्ष बनाएर नयाँ कार्यसमिति चयन गरेको जनाएको थियो ।
अहिले दुवै पक्षले एनआरएनभित्र देखिएको समस्या समाधानका लागि पहल गरेको बताएका छन् । यसैक्रममा आज अध्यक्ष डा. केसीले आज आरके शर्मासँग ठमेलको एक होटेलमा भेटेर छलफल गरेका छन् ।
छलफलका क्रममा दुवै जनाले अहिलेको समस्या समाधानका लागि मिल्नुपर्ने निष्कर्ष निकालेका छन् । अध्यक्ष केसीले शर्मासँगको छलफलमा अहिले देखिएको समस्या समाधानका लागि छानविन गर्न तयार रहेको बताएका थिए ।
निर्वाचन पछि नतिजामा देखिएको समस्याका कारण अहिले दुई समूह विभाजनको अवस्थामा पुगेको छ । सुरुदेखि नै छानविनको माग गर्दै आएकाले आफू पनि छानविन गर्न तयार रहेको बताउँदै सबै प्रक्रिया पूरा गरेर मात्रै नेपाल छाड्ने समाजटाइम्सलाई बताए ।
उनले भने ‘म नवमीको दिनदेखि नै आरकेलाई फ्लो गरेको थिएँ, आज भेट भयो, त्यसअघि महेश श्रेष्ठसँग पनि छलफल गरेको थिएँ ।’ छलफलका क्रममा आफूसँग छानविन गर्नका लागि गरेको प्रस्तावका विषयमा आरकेले साथीहरुसँग छलफल गरेर मात्रै जवाफ दिने बताएका थिए ।
अहिले देखिएको एनआरएन अभियान रहेकाले यसमा सबै साथीहरुलाई मिलाएर अघि बढ्ने आफ्नो दायित्व पनि रहेको बताए । अध्यक्ष केसीले केही दिन अघि महेश कुमार श्रेष्ठसँग छलफल गरेको पनि बताए । श्रेष्ठसँगको छलफलमा पनि छानविन गरेर सत्यतथ्य पत्ता लगाउनु पर्ने कुरा भएकाले आफू त्यसका लागि अघि बढेको पनि केसीले बताए ।
Pic Source : Ang Ngima Gelje Sherpa – taktok