भुटानी मानवअधिकारवादी नेताको जीवनी ‘भम्पा’ अमेरिकामा विमोचित

ह्यारिसबर्ग,अमेरिका/ भुटानी शरणार्थी मानवधिकारवादी नेता स्वर्गीय डा. भम्पा राईको जीवनका बारेमा लेखिएको पुस्तक ‘भम्पा’ शनिवार अमेरिकामा विमोचन गरिएको छ।
वीरेन मगरद्वारा लेखित पुस्तक शनिवार पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्गमा विमोचन गरिएको हो।
एसियन रेफ्युजी युनाइटेड (एआरयु) द्वारा आयोजित कार्यक्रममा विभिन्न व्यक्तिद्वारा सामूहिक रूपमा विमोचन गरेका हुन्।
भुटनीज कम्युनिटी ह्यारिसबर्गका सदस्य नरेन राई, ग्लोबल भुटनीज साहित्य संगठनका उपाध्यक्ष आभास रीखाम, त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव (वैरागी माइलो), समुदायका अग्रज भक्त घिमिरे, केबी चुहान, विश्व छेत्री, डा. खेम आधिकारी र डीपी अधिकारीले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए।

एआरयुका कार्यकारी निर्देशक रविन गुरुङको स्वागत मन्तव्य सबै सुरु भएको कार्यक्रममा डा. खेम अधिकारीले डा. भम्पा र विमोचित पुस्तकका बारेमा मन्तव्य दिएका थिए।
अधिकारी सन् १९९२ मा डा. भम्पा सँगै काम गरेका व्यक्ति हुन्।
यसै गरी कार्यक्रममा भक्त घिमिरेले पुस्तकको समीक्षा गरेका थिए। कार्यक्रममा पुस्तकका लेखक वीरेन मगरले पनि आफ्नो अनुभव व्यक्त गरेका थिए।

कार्यक्रम सञ्चालक पर्शु अधिकारीका अनुसार पुस्तकको मूल्य १५ अमेरिकी डलर तोकिएको छ। पुस्तक दुई सय ९९ पेजको रहेको छ।
अधिकारीका अनुसार पुस्तक खरिद गर्न एआरयु सँग सम्पर्क गर्न सकिने छ। पुस्तकको अग्रेजीमा अनुवाद गरि प्रकासन गर्ने तयारी गरिएको छ। हाल तोकिएको १५ डलर भन्दा बढी रकम कसैले दिएमा सो रकम अंग्रेजी संस्करणमा खर्च गरिने छ।
कुनै समय भुटानी शाही चिकित्सकको रूपमा रहेका डा. भम्पा नेपाली भाषी भुटानबाट लखेटिए पछि उनीहरूसँगै त्यहाँको वैभव त्यागेर नेपाल आएका थिए । त्यसयता उनले क्याम्प बाहिर बसेर हेल्थ क्लिनिक चलाएर लगातार भुटानबाट लखेटिएका नेपाली भाषीलाई स्वदेश फर्काउने अभियानमा सहयोग गरेका थिए।
यही अभियानलाई मूर्त रूप दिन डा. भम्पा अन्य मुलुक नगएर नेपालमै बसेका थिए ।
दमकस्थित भुटानी शिविरमा श्रीमतीसँग बस्दैि आएका भम्पा दुई वर्षअघि श्रीमतीको निधन भएपछि एक्लो भएका थिए ।
भुटानी शरणार्थीको न्यायका लागि लडेका डा. राई निःसन्तान हुन् ।

फोटो सौजन्य मोहन अधिकारी