पोल्यान्डमा नेपाली दूतावासको तीन दिने घुम्ती सेवा,दुई सय ४९ जनाले नयाँ राहदानीका लागि आवेदन

पोल्यान्ड । पोल्यान्डको राजधानी वार्सामा अक्टोबर ७ देखि ९ सम्म सञ्चालन भएको घुम्ती सेवामा दुई ४९ जनाले नयाँ राहदानीको लागि आवेदन दिएका छन्। बर्लिनस्थित नेपाली दूतावासको सहयोग तथा वार्सास्थित अवैतनिक वाणिज्य दूतावासको सहकार्यमा विद्युतीय राहदानीको फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि तीन दिने घुम्ती सेवा आयोजना गरिएको हो।
घुम्ती सेवाको सुपरिवेक्षण जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र पोल्यान्डका लागि अवैतनिक वाणिज्य दूत डा. बोधराज सुवेदीले गरेका थिए ।
पोल्यान्डमा रहेका नेपालीहरूको नयाँ राहदानी बनाउन बायोमेट्रिक सङ्कलनको लागि परराष्ट्र मन्त्रालय नेपालद्वारा वर्लिनस्थित नेपाली दूतावास र पोल्यान्डको लागि अवैतनिक वाणिज्य दूतावासको रोहबरमा घुम्ती सेवा सञ्चालन गर्ने सम्बन्धी निर्णय बमोजिम सो सेवा सम्पन्न भएको हो।
सन् २०२४ सेप्टेम्बर ३० सम्म म्याद भएका राहदानी नवीकरण तथा नयाँ विद्युतीय राहदानी (ई-पासपोर्ट) को लागि फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि घुम्ती सेवा गरिएको हो।
पोल्यान्डमा नेपाली दूतावास नभएको कारणले त्यहाँ रहेका नेपालीहरू राहदानी साथै अन्य कागजपत्रको लागि बर्लिनस्थित नेपाली दूतावास धाउनु पर्ने समस्यालाई घुम्ती सेवाले सहज बनाएको छ । घुम्ती सेवा सम्पन्न गर्नका लागि जर्मन दूतावासबाट खटिएर नानु थापा आएकी थिइन् ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) पोल्यान्डका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।
एनआरएनए आइसिसी महिला सचिव डा. एलिनी पोख्रेल सुवेदी, एनआरएनए पोल्यान्डका उपाध्यक्ष कुल बहादुर श्रेष्ठ, महासचिव पवन खड्का, सचिव उदयराज गिरी, सदस्य प्रजल रेग्मी र विवस हाडॅराई, जीवन लुइँटेल, युवराज बरालले कार्यक्रममा सहयोग गरेका थिए।

यस्तै नेपाली जनसम्पर्क समिति पोल्यान्डका अध्यक्ष भीम परियार , महामन्त्री सुरेन्द्र आचार्य , सचिव तथा प्रवक्ता आशिष श्रेष्ठले पनि कार्यक्रममा सहयोग गरेका थिए।
ईनास ग्लोबलका सल्लाहकार मित्रलाल पार्दे , अन्तर्राष्ट्रिय साहित्य समाज पोल्यान्डका अध्यक्ष सुसन परियार , ईनास पोल्यान्डका अध्यक्ष विवेक पौडेलले पनि कार्यक्रम सफल बनाउन सहयोग गरेका थिए।
यस्तै निश्चल सुवेदी, सर्वोदय थापा, श्रयास्कर शाह, लाल प्रसाद निउरे, शिवधर महतो, मुकुन्दहरि चालिसे, अभिषेक अधिकारी, झलक पोखरेल, टेक व. खत्री , सागर भुजेल र मनिष दाहालसाथै अन्य स्वयंसेवकहरुले सक्रिय सहयोग गरेका थिए ।
स्वयंमसेवकहरुलाई खानाको व्यवस्था भान्छा रेस्टुरेन्टले गरेको थियो भने हलको सुविधा हाउस अफ कल्चर केएडीआर ले उपलब्ध गराएको थियो। सो घुम्ती सेवामा म्याद सकिन लागेका पासपोर्टका साथसाथै हराएका, नाम बिग्रिएका नेपालीहरूले नयाँ पासपोर्टको लागि आवेदन दिएका छन्।
यसरी आवेदन दिएका आवेदकहरूले दुई महिना भित्रमा पासपोर्ट प्राप्त गर्ने जानकारी अवैतनिक वाणिज्य दूत डा. सुवेदीले दिए।
पोल्यान्डका विभिन्न सहरहरूमा छरिएर रहेका नेपालीहरूलाई राहदानी तयार भएर आएपछि चाहनेहरूलाई उनीहरूकै ठेगानामा कुरियरद्वारा पठाइने व्यवस्था मिलाइ एको छ। स्मरण रहोस् बर्लिनस्थित नेपाली दूतावासले रोमानिया, चेक रिपब्लिक र हॅगेरीमा यस्ता सेवाको व्यवस्था गरिरहेको छ र गत अप्रिल १-३ मा पहिलो पटक पोल्यान्डमा यस्तो सेवाको सञ्चालन गरिएको थियो।