विराटनगर र अमेरिकाको न्यु योर्क सिटी मेयर बिच भेटवार्ता

न्यु योर्क /अमेरिका भ्रमणमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यु योर्क सिटीका समकक्षी एरिक एड्म्स सँग भेटवार्ता गरेका छन्।
गिरिजा प्रसाद फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेका अनुसार बुधवार न्यु योर्क सिटी मेयरको कार्यकक्षमा दुई समकक्षी बिच भेटवार्ता भएको हो।
मेयर कोइराला इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए) ले आयोजना गरेको सेमिनारमा सहभागी अमेरिका आएका हुन्। यो संस्थाले अमेरिकाका स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा काम गर्छ।
बुधवारको भेटमा आफूहरूका अनुभव साटासाट भएको मेयर कोइरालाले समाज टाइम्सलाई बताए।

‘उहाँ सँग पहिला पनि भर्चुअल बैठकहरूमा कुराकानी भएको थियो, आज प्रत्यक्ष भेटियो।’ भेट बारेमा समाज टाइम्स सँग मेयर कोइरालाले भने ‘न्यु योर्क र विराटनगरका कतिपय समस्या मिल्दाजुल्दा छन् त्यसको व्यवस्थापन कसरी भइरहेको छ भन्नेमा हाम्रो धेरै कुराकानी भयो।’
‘दुवै सहर विविधता भएका हुन्, समस्याहरू समाधानमा एक अर्काले कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा आज हाम्रो भेट केन्द्रित भयो।’ मेयर कोइरालाले भने। ‘ठूलो सहर न्यु योर्कले कसरी काम गरि रहेको छ भन्नेमा चासो रह्यो।’

उनले आफू नेपाल फर्किए पछि न्यु योर्क सिटीका मेयर एड्सलाई विराटनगर भ्रमणको औपचारिक निम्तो दिने बताए।
मेयर कोइरालाले मङ्गलवार न्यु योर्कका सिनेटर सहित अन्य उच्च पदस्थ व्यक्ति सँग भेट गरेका थिए।

र यो पनि…
विराटनगरका मेयर कोइरालाद्वारा न्यु योर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट