विराटनगरका मेयर कोइरालाद्वारा न्यु योर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट

न्यु योर्क /अमेरिका भ्रमणमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मङ्गलवार न्यु योर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित भेटघाट गरेका छन्।
मेयर कोइरालाले सिनेटर माइकल जियानारिस सहितका उच्च पदस्थ व्यक्तिहरूसित भेटघाट गरेका हुन्।
सिनेटर माइकलसितको भेटमा नेपालको राजनैतिक अवस्था,विकासमा स्थानीय सरकारको भूमिका,ऐन कानुनको कार्यान्वयनमा देखिने समस्या लगायतका विषयमा छलफल भएको जनाइएको छ।
त्यस्तै मेयर कोइरालाले न्यु योर्क सिटी शिक्षा समितिका अध्यक्ष एवं न्यु योर्क राज्यका सेनेटर जोन सी लिउसँग पनि भेटघाट गरेका थिए। सो अवसरमा मेयर कोइरालाले विराटनगर महानगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिएको उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

शिक्षाको विकास बिना कुनै पनि क्षेत्रको विकास नहुने बताउँदै मेयर कोइरालाले सीमित स्रोत साधनकाका बाबजुद पनि महानगर शिक्षाको विकासमा लागेको जानकारी गराए। सो अवसरमा उनले शिक्षा क्षेत्रको विकासका लागि सहयोगको आग्रह समेत गरेका थिए।
त्यस्तै मेयर कोइरालाले न्यु योर्क विधान सभाका प्रथम फिलिपिनो अमेरिकी स्टिभन रागासित पनि भेटघाट गरेका थिए।

मेयर कोइराला संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए) ले आयोजना गरेको सेमिनारमा सहभागी सेप्टेम्बर १० तारिख अमेरिका आएका हुन्।
४० भन्दा बढी मुलुकका स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरू सहभागी सेमिनारमा मेयर कोइरालाले सहभागिता जनाइ सकेको उनका अन्तर्राष्ट्रिय सल्लाहकार सोमनाथ घिमिरेले जानकारी दिए।
टेक्ससमा भएको सेमिनारमा सहभागी पछि मेयर कोइराला न्यु योर्कमा भेटघाट र छलफलमा व्यस्त बनेका हुन्। उनले अमेरिकामा रहेका गैर आवासीय नेपालसहित विराटनगरमा जन्मिएर अमेरिकामा बसोबास गर्नेहरूसित पनि भेटघाट गरेका थिए। भेटमा मेयर कोइरालाले विराटनगरको शिक्षा, स्वास्थ्य र भौतिक संरचनाको विकासमा सहयोग गर्न विराटनगरवासीलाई आग्रह गरेका थिए ।

विराटनगर र अमेरिकाको न्यु योर्क सिटी मेयर बिच भेटवार्ता
October 11, 2023 @ 8:29 pm
[…] विराटनगरका मेयर कोइरालाद्वारा न्यु य… […]