एनआरएन चुनाव : उम्मेदवारलाई प्रस्ताव र समर्थक भेट्न मुस्किल !

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि अक्टोबर १२ (विहीबार)देखि उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारी दर्ताका लागि एनआरएन सचिवालयमा निर्वाचन कार्यालय नै स्थापना गरिएको छ ।
विधानमा भएको कार्यसमिति अनुसार एक अध्यक्ष, खुल्ला उपाध्यक्ष ६, महिला र युवा उपाध्यक्षमा एक एक पदमा निर्वाचन हुदै छ। यस्तै महासचिवमा एक र उपमहासचिव दुई पदको व्यवस्था गरेको छ । यसैगरी एक महिला सहित सात सचिव हुने छन् । कोषाध्यक्ष एक पदमा निर्वाचन हुँदा सहकोषाध्यक्ष भने एक महिला सहित चार पदमा चुनाव हुने छ। यसैगरी महिला र युवा संयोजक एक एक पदमा चुनाव हुने छ।
त्यस्तै, क्षेत्री संयोजक ६ जना (प्रत्येक क्षेत्रमा १ जना) हुने छन् । त्यसैगरी क्षेत्रीय उप संयोजक भने १७ जना हुने छन् । जसमा अफ्रिका क्षेत्रबाट २ जना हुँदा अरु क्षेत्रबाट ३ जनाका दरले हुने छन् ।
यस्तै, क्षेत्रीय महिला संयोजक ६ जना (प्रत्येक क्षेत्रबाट १) क्षेत्रीय महिला उप संयोजक ६ जना (प्रत्येक क्षेत्रबाट १) रहने छन् । क्षेत्रीय युवा संयोजक र उप संयोजक पनि ६–६ जना हुने छन् ।
यस्तै, दोस्रो पुस्ताका गैर आवासीय नेपाली संयोजक १ जना रहने छन् । निर्वाचन समितिका अनुसार पदाधिकारीको संख्या ७४ हुने छ । निर्वाचन समितिले बनाएको तालिका अनुसार १ जना उम्मेदवारका लागि ४ जना प्रस्तावक र समर्थकको व्यवस्था अनिवार्य गरिएको छ ।

अहिले अनलाइनबाट मतदान गर्ने व्यवस्था भएकाले विगतको अधिवेशनको तुलनामा यस पटक प्रतिनिधिहरु काठमाडौं कम आउने पक्का छ । उम्मेदवार बन्नका लागि भौतिकरुपमै दुई प्रस्तावक र दुई समर्थक गरि चार जना प्रतिनिधि आवश्यक पर्ने भएकाले उम्मेदवारलाई त्यसको जोहो गर्न हम्मे हम्मे परेको एक उम्मेदवारले समाज टाइम्सलाई बताए ।
मुख्य पदका लागि भन्दा पनि तल तीरका पदमा त्यस्तो समस्या देखिएको उनको भनाई छ। एक जना प्रतिनिधि एक उम्मेदवारको मात्र प्रस्तावक वा समर्थक बस्न सक्छ।
७४ पदका लागि उम्मेदवार बन्दा दुई जना उम्मेदवारका दलरले प्रस्तावक र समर्थक आवश्यक पर्दा कम्तिमा ६ सय जना प्रतिनिधि काठमाडौंमा उपस्थित हुनु पर्छ । यसैगरी काठमाडौंमा उपस्थित भएका प्रतिनिधिले दुई सय अमेरिकी डलर रजिष्ट्रेशनका लागि तिनु पर्ने व्यवस्था पनि बाध्यकार बन्दी उम्मेदवारसँग प्रस्ताव र समर्थकले राम्रो डिमान्ड गर्ने गरेको पनि एक प्रतिनिधिले बताए । नाम नलेख्ने शर्तमा भने ‘भोट हाल्नकै लागि यहाँ आएका छौं, उम्मेदवारले हाम्रो व्यवस्था त गर्नु पर्यो नी ।’
उम्मेदवारी दर्ता अक्टोबर १२ देखि १४ सम्म एनआरएन सचिवालयमा हुने छ । निर्वाचन अक्टोरब १९ तारिखमा हुने छ । नेपाल आएका प्रतिनिधिले अनलाइन मतदान गर्न पाउने छैनन् भने बाहिर रहेकाहरुले अनलाइन मतदान गर्न पाउने छन् । अहिलेसम्म चार हजार एक सय ९२ मतदाताको लिस्ट सार्वजनिक भएको छ ।



