एनआरएन डे मनाइयो

काठमाडौं । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियानले आजबाट २० औँ वर्ष पूरा गरेको छ । एनआरएनएको स्थापना सन् २००३ अक्टोबर ११ तारिखमा स्थापना भएको हो ।
विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको थियो ।
स्थापना दिवसको अवसरमा काठमाडौंको स्वयम्भू र पशुपतिनाथ मन्दिरमा पूजा आरधना गरिएको छ । अक्टोबर १७-२० विश्व सम्मेलन तथा महाधिवेशन आयोजना गरिएकाले स्थापना दिवसमा उल्लेख्य सहभागिता रहेको थियो ।
स्थापना दिवसको अवसरमा जारी सन्देश
गैरआवासीय नेपाली संघ देश विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्र बन्दै आएको छ । स्थापनाको २० वर्षको अवधिमा ८६ देशमा औपचारिक सञ्जालको विस्तार गरेर विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एउटै मालामा जोड्न संघ सफल भएको छ ।
गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाको २० औँ वर्षगाँठ मनाइरहँदा स्थापना कालदेखिका माग तथा मुद्दाहरु क्रमशः सम्बोधन हुने क्रम जारी छ । यसबीचमा सबैभन्दा ठूलो उपलब्धी अर्थात विदेशमा बस्ने नेपालीका लागि सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने कानूनी बाटो खोलेको छ ।

यस अधिकारसँगै विदेशमा रहेका नेपालीमा राष्ट्रप्रतिको दायित्व र जिम्मेवारी बढेको महसुस भएको छ । गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकालदेखि नै माग गर्दै आएको श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्नुपर्ने माग सरकारले सम्बोधन गरेको छ । हजारे योजनाको अवधारणामा सुत्रपात भएको योजनालाई संघकै पहलमा सरकारले वैदेशिक रोजगारीमा गएका र विदेशमा स्वरोजगारमा रहेकालाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गर्न थालेको छ ।
अदालतको आदेशले विदेशमा बस्ने नेपालीको मताधिकारको अधिकार सुनिश्चित गरेको छ भने निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको मताधिकारको अधिकार कार्यान्वयनको लागि ऐन निर्माण लगायतका सम्पूर्ण प्रक्रिया अघि बढाइसकेको छ ।
धितोपत्रमा विदेशबाटै कारोबार गर्ने प्रक्रिया सुरु भएको छ । अर्थात्, विश्वव्यापीकरण र डिजिटल प्रविधिले हटाएको भौगोलिक सीमा, बाहिर बस्ने नेपालीका हकमा पनि क्रमशः मेटिँदै गएको छ । छरिएर आउने पूँजी संगठित रुपमा भित्रन थालेको छ । लगानी भित्र्याउन देखा परेका कानूनी व्यवधान क्रमशः सम्बोधन हुने क्रम जारी छ ।
वैदेशिक लगानीका सम्भावनाहरु सीमित भएको र आन्तरिक स्रोत साधनको सिमितताबीच रहेको नेपालका लागि गैरआवासीय नेपाली समुदायको उपस्थिति आर्थिक खाडल पूर्तिका लागि नौलो अवसर बन्न सक्ने देखिएको छ । नेपालका जलविद्युत, बैकिङ, पर्यटन, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा गैरआवासीय नेपालीको उल्लेख्य लगानी भित्रिरहेको छ । विदेशमा रहेका नेपालीलाई एउटै छातामा समेट्ने उद्देश्यले स्थापनाको दुई दशकको यस अवधिमा विदेशमा रहेका ठूला लगानीकर्ता मात्रै होइन साना तथा मझौला लगानीकर्ताहरु पनि देशमा लगानी भित्र्याउन लागि परेका छन् । सरकारले गैरआवासीय नेपालीलाई विदेशी मुद्रामै पूर्ण रुपले लगानी फिर्ता गर्न सहिने गरी मुद्दती र बचत निक्षेपमा खाता खोल्ने सुविधा समेत प्रदान गरेको छ ।

दुई दशकको अवधिलाई नियाल्दा गैरआवासीय नेपालीहरुले विकास र पूर्वाधार निर्माणका क्षेत्रमा पनि आफ्नो उपस्थिति बढाउँदै लगेका छौँ । आर्थिक लगानी मात्रै होइन यस सँगै बौद्धिक लगानी भित्र्याउन पनि संस्थागत प्रयास जारी छ । नेपालमा पूँजी मात्रै नभई, ज्ञान सीप प्रविधि भित्र्याउन २ वटा ज्ञान सम्मेलन सम्पन्न भइसकेको छ । सरकार, सरोकारवाला र विदेशमा रहेका नेपालीलाई जोड्न पुनः तेस्रो ज्ञान सम्मेलन आयोजना हुँदैछ । पछिल्लो २० वर्षको अवधिमा गैरआवासीय नेपाली संघमार्फत उल्लेख्य परोपकारी कार्य भएका छन् । दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग जोड्ने प्रयास जारी छ । विदेशमा लामो समय बसेर त्यहाँको आर्थिक–सामाजिक परिवेश राम्रोसँग बुझेका गैरआवासीय नेपालीले त्यहाँको समाज र सरकारसँग नेपाललाई जोडेर नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन नेपाली डायस्पोराले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
संघ श्रमिकमैत्री बनेको छ । बाध्यताले श्रम गर्न गएका नेपालीलाई समेट्ने, तिनको हक–हितका लागि बोल्ने उनीहरुको कुरा सुन्ने र उनीहरुको साझा संस्था बनाउने दायित्व पूरा हुँदै गएको छ । समग्रमा संघ विश्वभरका गैरआवासीय नेपालीको अभिभावक बनेको छ । यो संघ आफ्नो अभिभावकत्व निर्वाहका लागि सदैव प्रतिबद्ध छ ।
गैरआवासीय नेपाली संघलाई आजको दिनसम्म ल्याउन प्रत्येक गैरआवासीय नेपाली, नेपाल सरकार, सरोकारवाला संघसंस्था, सहयोगी निकायहरु राष्टिय तथा अन्तराष्टिय संघसंस्था, सञ्चार क्षेत्र सबैको भूमिका महत्वपूर्ण छ । हामी सबै मिलेर नै आजको सफलता हासिल गर्न सम्भव भएको हो । गैरआवासीय नेपाली संघ हरेक हातको साथप्रति कृतज्ञ छ । यी दुई दशकको साथ, सहयोग र विश्वासका लागि तपाई सम्पूर्णलाई अथाह धन्यवाद ।