अमेरिकाका आरसी राम सी पोखरेलको अबको दाबी एनआरएनए आइसीसी सचिव
पेन्सिल्भेनिया, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका संयोजक (आरसी) राम सी पोखरेलले आसन्न अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को निर्वाचनमा सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपालमा अर्घाखाँचीकामा जन्मिएर पछिल्लो दुई दशक भन्दा बढी समय देखि अमेरिकाको टेक्ससमा व्यवसाय गर्दै आएका पोखरेलले दोहोरो नागरिकता, लगानीको वातावरण, श्रमको सम्मान, श्रमिकको सुरक्षा, ज्ञान, सिपको प्रयोग, प्रवर्द्धन, बिद्यार्थीहरुलाइ उचित सहयोग र सल्लाहका लागि सचिव पदमा उम्मेदवारी दिएको बताएका छन्।
‘मुख्य एजेन्डा त , नेपालको आर्थिक समृद्धि र मातृभूमि तथा कर्मभूमिका नेपालीको समृद्धि नै हो । तर यसलाई छिटो प्राप्त गर्ने साना वा फराकिला बाटाहरू हामीले पहिल्याउन सक्नु पर्छ ।’ पोखरेले आफ्नो उम्मेदवारी घोषणा गर्दै भनेका छन्।
‘हुन त, म सचिवको उम्मेदवार हुँ । मैले चाहेका वा भनेका सबै कुराहरू पुरा नै हुन्छन् भन्ने छैन । तर पनि एनआरएनलाई नेपाल र नेपालीको समृद्धिको एउटा प्रभावकारी सहयात्री बनाउन सकिन्छ भन्ने मेरो विश्वास छ ।’ पोखरेलले भनेका भनेका छन्,’यसका लागी मेरा केही खास सोच र एजेन्डाहरू छन् । एजेन्डा तय गर्दा , गैर आवासीय नेपालीहरूलाई नेपालसँग भावनात्मक र भौतिक रूपमा सधैँ कसरी जोडी रहन सकिन्छ भन्ने कुरामा ध्यान दिनु पर्छ जस्तो मलाइ लाग्छ।’
उनले बाहिरका र भित्रका नेपालीलाई सधैँ जोडी रहने अन्य कतिपय स्थानीय स्तरका प्रोजेक्टहरूको सञ्चालन पनि मेरो एजेन्डा हो भनेका छन्।
‘हो, एनआरएनले यो बिचमा केही बाटो बिराएको, विश्वास गुमाएको जस्तो देखिएको छ । नेतृत्वमा जाने होडबाजी र अनावश्यक राजनीतिक चलखेलका कारण यस्तो भएको हो । अब यसलाई सच्याउनु पर्छ ।’ पोखरेलले भनेका छन्, ‘विश्व भरी यत्ति ठुलो सञ्जाल भएको संस्था किन कमजोर र प्रभावहीन बन्दै गइरहेको छ भन्ने बारेमा यसका नेतृत्वकर्ताहरुले गम्भीर समीक्षा गर्नु पर्छ । समीक्षा मात्र गरेर पुग्दैन, अब विश्वास जित्ने केही कामहरू सुरु गरिहाल्नु पर्छ । मेरो प्रयास सदैव यसतर्फ केन्द्रित हुनेछ ।’
पोखरेल एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष हुन्। उनले अमेरिका क्षेत्रको उपसंयोजक (डिआरसी)को जिम्मेवारी पनि निर्वाह गरिसकेका छन्।