दुई सूत्रीय एजेन्डा सहित एनआरएनए आइसीसी सचिव पदमा जर्मनीबाट नब राज रोस्याराको दाबी
पेन्सिल्भेनिया, अमेरिका / दुई दशक देखि जर्मनीमा रहेका आइटी इन्जिनियर डा. नब राज रोस्याराले गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को आगामी निर्वाचनमा सचिव पदमा उम्मेदवारी दिने भएका छन्।
एनआरएनए आइसीसीको निर्वाचन अक्टोबर १९ तारिख हुँदै छ। रोस्यारा एनआरएनए जर्मनीका पूर्व अध्यक्ष तथा युरोप क्षेत्रका डिआरसी हुन्।
नेपालमा डोटी शिखर गाउँपालिकाका रोस्यारा अध्ययनका क्रममा २१ वर्ष अगाडी जर्मनी पुगेका हुन्। गणित विषयमा मास्टर र कम्प्युटर साइन्समा पिएचडी गरेका रोस्याराले यस पटकको निर्वाचनमा दुई एजेन्डा बोकेका छन्।
‘मेरो एजेन्डाहरू यसपालि दुइटा छन्, संस्थाको डिजिटलाइजेसन र हरेक देशमा विदेशीहरू समेत समेटेर नेपाल फ्रेन्डसिप काउन्सिल बनाउने।’ समाज टाइम्स सँगको कुराकानीमा रोस्याराले भने।
‘निर्वाचनमा छान्न मिल्ने ६ जना त्यस भित्र पारी दिन विनम्र अनुरोध छ।’ उनले आफ्नो चुनावी अपिलमा भनेका छन्।
रोस्याराले आफू सबै किसिमका समूहसँग हातेमालो गर्दै सहकार्य गर्न सक्ने र कुरा कम काम बढी काम गर्ने व्यक्ती भएको दाबी गरे।
उनले गर्नुपर्ने कामहरूको खाका नै बनाएका छन्।
डिजिटलाइजेसनको आवश्यकता किन भन्ने विषयमा उनले आफ्नो स्पष्ट अवधारणा ल्याएका छन्। यहाँ क्लिक गरेर रोस्याराको डिजटलाइजेसनको अवधारणा पढ्न सक्नु हुने छ।
‘हामीलाई अहिले आइटी मैत्री, सक्षम र निष्पक्ष तथा सबै सँग सहकार्य गरी अघि बढ्ने नेतृत्वको खाँचो छ। त्यस्तै मैले हिजो देखी नै गैर आवासीय नेपाली संघको अभियानमा विदेशी मित्रहरूलाई पनि समावेश गर्नको लागि विशेष योजना अघि सारेको छु किनकि यो कुरा अत्यन्त आवश्यक छ।’ रोस्याराले भने।
यहाँ क्लिक गरेर रोस्याराको नेपाल फ्रेन्डसिप काउन्सिल अवधारणा पढ्न सक्नु हुने छ।
‘यी नै मुद्दाहरूको नेतृत्व गर्न म यहाँहरू समक्ष आइसिसी सचिवको उम्मेदवारको रूपमा मत मागी रहेको छु। यहाँहरूको सल्लाह र सुझावको अपेक्षा मेरा लागि निकै नै महत्त्वपूर्ण हुनेछन्।’ रोस्याराले चुनावी अपिलमा भनेका छन्।
‘हामीले नेपालको र नेपाली समुदायको सम्मृद्धिको पवित्र सपना बोकेका छौ भने यो वा त्यो समुदाय , पार्टी वा धर्म र क्षेत्रको नभनी सबैलाई केवल नेपालीको रूपमा हेरेर मूल्याङ्कन गरी दिनुहुन विनम्र अनुरोध गर्दछु।’ रोस्याराले भनेका छन्।