एसियाली खेलकुद : नेपालले कबड्डीमा पायो ऐतिहासिक कांस्य
काठमाडौ/ चीनमा जारी एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा जितेको ऐतिहासिक कांस्य पदक शनिबार पाएको छ । महिला कबड्डीतर्फको फाइनल खेलपछि शनिबार पदक वितरण गरिएको हो । रोमाञ्चक फाइनलमा भारतले चाइनेज ताइपेइलाई २६–२५ अंकले हराउँदै स्वर्ण जित्यो ।
नेपालसँगै साबिक विजेता इरानले पनि कांस्य जितेको छ । नेपालले जारी एसियाडको १५औँ दिनमा आएर शनिबार औपचारिक रूपमा कांस्य पदक ग्रहण गरेको छ । नेपाल समूह चरणमा बङ्गलादेशलाई ३७–२४ अंकले हराएर पदक नजिक पुगेको थियो ।
समूह ‘बी’को दोस्रो खेलमा नेपाल इरानसँग ४३–१९ अङ्कले पराजित भएको थियो । नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको नेपाल सेमिफाइनलमा भने भारतसँग ६१–१७ अंकले चुकेको थियो ।
एसियाडमा कांस्य पदक दिलाउने नेपाली टोलीको खेलाडीहरूमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त हुनुहुन्छ ।
एसियाडमा नेपाललाई पदक दिलाउने कबड्डी पाँचौं खेल हो । यसअघि कराते, तेक्वान्दो, बक्सिङ र प्याराग्लाइडिङले नेपाललाई पदक दिलाइसकेका छन् । महिला कबड्डीमा नेपालले पहिलोपटक सहभागिता जनाएको हो ।
नेपालको सान्त्वना जित
महिला भलिबलमा नेपालले अन्तिम खेलमा सान्त्वना जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले मंगोलियालाई ३–२ को सेटमा हरायो ।
नेपालले मंगोलियामाथि १७–२५, २५–१८, २५–२१, १८–२५, १५–१२ को जित दर्ता ग¥यो । जितसंगै नेपाल ११ औं स्थानमा रह्यो ।
महिला भलिबलमा १३ टोलीले प्रतिस्पर्धा गरेका थिए । नेपालको महिला भलिबल टोलीले पहिलो पटक एसियाड खेलेको हो ।
गणेश आठौँ
नेपालका गणेश गुरुङ क्यानोइङमा शनिबार आठौँ भए । फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा भएको फाइनल चरणमा प्रवेश गरेका गशेण फाइनलमा पुगेका १० खेलाडी मध्ये गणेश आठौ भएका हुन् । शनिबार नै भएको सेमिफाइनल चरणको खेलमा गणेश शीर्ष १० मा रहँदै फाइनल चरणमा पुगेका थिए ।
क्यानोइङमा चीनका क्वान सिनले स्वर्ण, जापानका तानाका युकीले रजत र चाइनेज ताइपेइका उ साओले हसुनले कांस्य जिते । क्यानोइङमा १६ खेलाडीले भाग लिएका थिए ।
कुस्ती
हाङझाउस्थित लिनान स्पोर्ट्स एन्ड कल्चर एक्जिबिसन सेन्टरमा शनिबार भएको कुस्तीमा नेपालका राज यादव र सुरेश चुनारा पहिलो खेलमै पराजित भए । पुरुष फ्रिस्टाइल ८१ केजी तौल समूहको प्रिक्वाटरफाइनलमा राज कम्बोडियाका बाली सोउसँग १०–० ले पराजित भए ।
पुरुष ७४ केजी फ्रिस्टाइलको प्रिक्वाटरफाइनलमा सुरेश चुनारा तुर्कमिनेस्तानका परमान होम्मादोभसँग ११–० ले पछि परे । महिलातर्फ शिवाङ्गी दुवे र सुशिला चन्द पहिलो खेलमै पराजित भएका थिए ।