चीनमा जारी एसियाडमा नेपाललाई ऐतिहासिक पदक, करातेकी एरिकाले जितिन रजत (भिडियो सहित)

काठमाडौँ/ चीनमा जारी १९ औँ एसियाली खेलकुदमा करातेकी एरिका गुरुङले नेपालका लागि ऐतिहासिक पदक जितेकी छिन्।
उनले महिला ६८ केजी तौल समूहमा रजत पदक प्राप्त गरेकी छिन् । शनिवार भएको फाइनलमा उनी ओलम्पिक पदकधारी कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित हुँदै रजतमा सीमित बनिन्।
तर उनले पाएको रजत नेपालका लागि ऐतिहासिक हो।

एसियाडमा नेपाली कराते खेलाडीले रजत जितेको यो पहिलो अवसर हो। व्यक्तिगत स्पर्धामा दोस्रो र समग्रमा भने तेस्रो हो। यस अगाडि सन् १८९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन। सविता पछिल्लो केही दशक देखि अमेरिकामा बस्दै आएकी छिन्।
टिम स्पर्धामा २०१८ मा प्याराग्लाइडिङ टोलीले रजत पदक ल्याएका थिए ।

एरिकाले यसअघि सेमिफाइनलमा हङकङकी यान काइ होलाई ८-४ को स्कोरले पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी हुन् ।
क्वाटर फाइनलमा एरिकाले जापानकी युजुकी सावाएलाई हराएकी थिइन् । जारी एसियाडमा नेपालका लागि यो दोस्रो पदक हो।
यसअघि महिला कबड्डीले कास्य पदक जितेको थियो ।
कराते एसियाडमा नेपालका लागि पदक दिलाउँदै आएको खेल हो । यसअघि सन १९९४ मा जापानको हिरोशिमामा भएको एसियाडमा करातेबाट सीता राई, सन् १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले र सन् २०१४ को इन्चोन एसियाडबाट विमला तामाङले कास्य पदक दिलाएका थिए ।
नेपाली टोलीका सेभ दि मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एरिकालाई ऐतिहासिक पदक जित्न सफल भएकोमा बधाइ दिदै एरिकाले सिंगो राष्ट्रको शिर उचो बनाएको बताए ।
‘‘मैले आफुले सकेको प्रदर्शन गरे । फाइनलमा सोफ्याले राम्रो खेलिन् । आगामी दिनमा झन् धेरै कडा मिहिनेत गर्नेछु । एरिकाले भनिन् ‘‘मैले फाइनल खेलाई हार भन्दापनि एउटा पाठको रुपमा लिएको छु । यसले मलाई थप मोटिभेसन दिएको छ ।’’
एरिकाले थप एक्सपोजर पाउँदै गए अन्य नेपाली खेलाडीले पनि राम्रो गर्न सक्ने बताइन् । ‘‘देशका लागि पदक जित्न सक्दा मैले आफुलाई भाग्यमानी ठानेकी छु । गर्वको अनुभुति भइरहेको छ । अझै धेरै गर्नुछ, यो एउटा स्टेप मात्र हो,’’ १९ वर्षीया एरिकाले भनिन् ।
नेपाली टोलीका प्रशिक्षक एवं साग स्वर्णधारी कुशल श्रेष्ठले नेपाललाई प्रशिक्षकको रुपमा रजत दिलाउन पाउँदा ज्यादै खुशी लागेको बताए । ‘‘करातेले ऐतिहासिक पदक जितेको छ । हामीले जसको भिडियो हेरेर खेलेका थियौँ, फाइनलमा उसैसँग खेल्न पाएका छौँ । यसलाई अझ अपग्रेड गरेर अगाडि बढे अर्को पटक स्वर्ण पदक जित्न सकिन्छ,’’ कुशलले भने ।
शनिबारै नेपालका सन्तोष श्रेष्ठ पुरुष ६७ केजीमुनि तौल समूहको प्रिक्वाटरफाइनलमा थाइल्यान्डका फियन्डी चाईवाटसँग ३–२ अंकले पराजित भएका थिए ।
फोटो तथा भिडियो स्रोत राखेप