दशैं मान्न नेपाल आउने नेपालीलाई भन्सारकाे नयाँ अनुरोध
काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैं भित्रिदै छ । अरुबेला देश विदेशमा हुनेहरु यति बेला दशैं मान्नकै लागि नेपाल आउने क्रम सुरु हुन्छ । अझ दशैंको चाड एकातिर अहिले गैर आवासीय नेपाली संघ एनआरएनएको ११ औं विश्वसम्मेलन तथा महाधिवेशन हुँदै छ । हरेक २–२ वर्षमा दशैंको फेरोमा हुने चुनावका कारण पनि अझ यस वर्ष बढी नै नेपालीहरु आउने गर्छन् ।
नेपालमा विभिन्न समयमा फेरि रहने नियम कानुनका कारण दशैंमा नेपाल आउनका लागि विभिन्न गर गहनादेखि मोबाइल फोन किन्नेहरु धेरै नै हुन्छन् ।
तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले असोज १५ गते एक सूचना प्रकाशित गरि नेपाल आउँदा ल्याउन पाउने सामानहरुको बारेमा स्पष्ट पारेको छ । विदेशबाट नेपाल आउने यात्रुहरुले आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानूनले छुट सुविधा दिएको सामान छुटमा ल्याउन पाउने छन् ।
व्यक्तिगत प्रयोजनमा राजस्व तिरेर ल्याउन सकिने उल्लेख गरिएका सामानबाहेक अन्य सामान नल्याउन कार्यालयले अनुरोध गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिका प्रसाद खनालले जारी गरेको सूचनामा उल्लेख छ ।
विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजन सम्बन्धि पछिल्लो व्यवस्थाअनुसार महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन ।
यसैगरी, पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । एक जना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउँने व्यवस्था रहेको छ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिकी जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानूनी व्यवस्था रहेको छ ।
मोबाइलको हकमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउँने कानूनी व्यवस्था रहेको छ । थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नु पर्दछ ।
श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था रहेको छ । तर, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् । अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको भन्सारमा तिर्नु पर्ने व्यवस्था रहेको छ ।
यसैगरी ५ हजार अमेरीकी डलर माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ । रकम घोषणाको भने कुनै महशुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था रहेको छ ।