गण्डकी एमाले अध्यक्षमा नवराज शर्मा विजयी

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् । उनले लमजुङका मायानाथ अधिकारीलाई पराजित गरेका हुन् । नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गरे ।
अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्नका लागि पटक पटक आग्रह गरे पनि गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको इगोका कारण सहमति जुट्न सकेन ।
एमालेका महासचिव शंकर पोख्रेलसहितका नेताहरु खगराजको पक्षमा रहेका थिए भने उपाध्यक्ष विष्णु पौडेल लगाएतका नेताहरु भने पृथ्वीसुब्बाको पक्षमा थिए ।
अन्ततः पृथ्वीसुव्बाले समर्थन गरेको प्यानल नै निर्वाचित हुन पुगेको छ । उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन् । गुरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे ।
सचिवमा लमजुङका धनञ्जय दवाडीले ५ सय २० मत लिएर विजयी भए । सचिवका अर्का उम्मेदवार कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरे ।
उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याए । उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारीले ५ सय ३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत ल्याइन् ।
मतदानमा ८ सय ९६ मत खसेको थियो ।