विश्वकप क्रिकेटमा न्युजिल्याण्डको विजयी सुरुआत

अहमदावाद । भारतको अहमदावादमा आजदेखि सुरु भएको आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले विजयी सुरुआत गरेको छ ।
उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डमाथि गत संस्करणको उप विजेता बनेको न्युजिल्याण्डले ९ विकेटको जित दर्ता गर्न सफल भयो ।
इंग्ल्याण्डले दिएको २८३ रनको लक्ष्य न्युजिल्याण्डले ३६.२ ओभरमा १ मात्र विकेट गुमाएर पूरा गर्न सफल भयो ।
न्युजिल्याण्डको जितमा डेभोन कनवे र रचिन रविन्द्र दुई जनाले नटआउट शतकीय पारि खेले । न्युजिल्याण्डका ओपनर विल योङ डकआउट भएका थिए । १.१ ओभरमा उनी पहिलो बल फेस गर्दा आउट भएपछि कोनवे र रविन्द्रले पारि सम्हाल्दै जित निकाले । कोनवेले १२१ बलमा ३ छक्का र १९ चौकाको मद्दतले १५२ रनको नटआउट शतकीय पारि खेल्दा रेचिन रविन्द्रले ९६ बलमा ५ छक्का र ११ चौकाको मद्दतले १२३ रनको नटआउट शतकीय पारि खेले । इंग्ल्याण्डको क्रिस वोक्सले १ विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाएर २८२ रनमात्रै बनाएको थियो । इंग्ल्याण्डका जो रुटले ७७ रनको पारि खेल्दा कप्तान जोस बटलरले ४३ रन जोडे । यसैगरी जोनी वेरिस्टोले ३३ रन बनाउँदा हेरी ब्रुकले २५ रन बनाए ।
यस्तै आदिल रसिद १५ रनमा नटआउट रह्दा मार्क वुड १३ रनमा नटआउट रहे । साम करण, डेभिड मलान १४–१४ रनमा आउट हुँदा लियाम लिभिङस्टोनले २० तथा मोइन अली ११ रनमा आउट भए । न्युजिल्याण्डका मेट हेनरीले सर्वाधिक ३ विकेट लिँदा मिचेल सेटनर र ग्लेन फिलिप्सले दुई दुई विकेट लिए ।