क्रिकेटमा रेकर्ड प्रदर्शन पछि दीपेन्द्रको प्रहरीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीले नेपाली राष्ट्रिय क्रिकेट टिमका ५ जना सदस्यलाई सम्मान गरेको छ ।
चीनमा भएको एसीयाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीका ५ जना खेलाडी नेपाल पुलिस क्लबमा आवद्ध रहेका छन् ।
उनीहरुलाई आज नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच खेलाडीलाई सम्मान गरेका हुन् ।
सम्मानित हुने खेलाडीहरूमा नेपाल पुलिस क्रिकेट टिमका कप्तान दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, सागर ढकाल एवम् नेपाल प्रहरीमा आवद्ध करण केसी र गुल्सन झा छन् ।
सोही अवसरमा प्रहरी महानिरीक्षक बसन्त कुँवरले टी २० क्रिकेटमा ९ बलमा अर्धशतक बनाएका ऐरीलाई एक तह बढुवा गरेको पत्र दिएका थिए । यसअघि प्रहरी जवान रहेका दीपेन्द्र बढुवा भएसँगै सहायक हवल्दार भएका छन् ।