एनआरएन नागरिकता लिन ५ सय डलर लाग्ने !
पेन्सिल्भेनिया । गैर आवासीय नेपाली नागरिकता पाउने प्रावधान राखेर सरकारले नेपाल नागरिकता ऐन जारी गरेपछि नियमावली पनि सार्वजनिक गरेको छ । राजपत्रमा असोज ४ गते प्रकाशित भएको नियमावलीले केही गम्भीर प्रश्न उब्जाएको छ ।
गैर आवासीय नेपाली नागरिकता लिनका लागि प्रावधानहरु समेटेर नियमावली जारी गर्दा गैर आवासीय नेपाली परिचयपत्रलाई अनिवार्य गरेको छ । विदेशमा रहेका केही नेपालीहरुले अब नागरिकता आइहाल्ने भए पछि किन एनआरएनए कार्ड लिने भन्दै त्यसै बसेका थिए ।
तर, नियमावली बनाउँदा यस विषयमा एनआरएनएकै अभियन्ताहरुको ध्यान पुग्न नजाँदा नगारिकता बनाउँदा एनआरएनए कार्ड अनिवार्य गरिएको छ । साथै एनआरएनए कार्ड परराष्ट्र मन्त्रालय र मातहतका राजदूतावासबाट लिने व्यवस्था पहिला नै भएको छ ।
सोही प्रावधान अनुसार एनआरएनए कार्ड पाउनका लागि ५ सय डलर बुझाउनु पर्छ । विदेशको पासपोर्ट लिएर एनआरएनए कार्ड बनाएपछि मात्रै एनआरएनए नागरिकताका लागि निवेदन दिन पाइने व्यवस्था गरिएको छ । एनआरएनए कार्डले गर्ने काम नागरिकताले पनि गर्ने भएकाले नागरिकता लिएपछि कार्ड नविकरण गरिरहनु नपर्ने वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले समाजटाइम्सलाई बताए ।
तर, कुनै एक व्यक्तिले एनआरएनए कार्डसहितको नागरिकता लिनका लागि सबै प्रक्रिया पूरा गरेर एनआरएनए नागकिरता पनि लिए, अनि पछि उनी सार्क मुलुकमा बसाई सरे भने उनको एनआरएनए कार्ड र नागरिकताको वैधता के हुने प्रश्न भने भबिष्यमा उब्जिने पोखरेलको भनाई छ ।
नागरिकता नियमावलीको अनुसूची ८ ग मा गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र पाउँने निवेदनको ढाँचा र प्रक्रिया उल्लेख गरेको छ । जसमा गैर आवासीय नेपाली परिचयपत्रको विवरण अनिवार्य समावेश गर्न भनिएको छ ।