एनआरएनए निर्वाचन: २४ बाचा सहित औपचारिक रूपमा आर.के. शर्मा उत्रिए मैदानमा
कतार (दोहा) । २४ बुँदे बाचापत्र सहित गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को आगामी कार्यकालका लागि कतार निवासी राजेन्द्र कुमार (आर.के.) शर्माले अध्यक्ष पदमा औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्।
निकै तामझामका साथ कतारको दोहामा बुधवार विशेष कार्यक्रमका बिच वर्तमान उपाध्यक्ष शर्माले उम्मेदवारी घोषणा गरेका हुन्।
“गैर आवासीय नेपालीको अभियान: स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने नारा बोकेका शर्माले २४ महिने कार्यकालको २४ कार्यक्रम पनि सार्वजनिक गरेका छन्।
उनले विश्वभर रहेका एनआरएनहरूको सल्लाह र सुझावको आधारमा आफूले योजना र कार्यक्रम ल्याएको दाबी गरे।
शर्माले आफ्नो कार्यक्रमले एनआरएनले अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने दाबी गरे। मेरो ‘कार्यक्रमले फुटेको होइन, जुटेको एनआरएन बन्छ।’ शर्माले भने।
उनले पद प्राप्तका लागि नभई कामका लागि आफूले अध्यक्षमा दावे दारी गरेको बताए।
“अध्यक्ष पद प्राप्त गर्ने मेरो अभिलाषा होइन । मैले त तपाई हाम्रा लागि काम गर्ने उद्देश्यले जिम्मेवारी लिन मात्र खोजेको मात्र हुँ ।” शर्माले भने, “मैले योजनाबद्ध रूपमा कार्य गर्ने लक्ष्य राखेको छु । ती लक्ष्य र कार्य योजनालाई समेटेर यो बाचापत्र सार्वजनिक गरेको छु ।”
शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरूलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वदेश फर्किने नेपाली श्रमिकहरूको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
शर्मा गैर आवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन् । उनले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसिसी सदस्य, मध्यपूर्व संयोजक र आइसिसी सचिव भएर काम गरेका छन्।
नेपालको बागलुङमा वि.सं. २०३८ साल जन्मिएका शर्मा २० वर्षअघि कतार पुगेका थिए । एउटा निर्माण कम्पनीमा एकाउन्टेनको रूपमा जागिर सुरु गरेका शर्मा अहिले कतारमा एक सफल नेपाली व्यवसायीका रूपमा चिनिन्छन् ।
एनआरएनए आइसीसीमा अहिले सम्म हालका उपाध्यक्ष महेश श्रेष्ठले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरि सकेका छन्।