सत्तारुढ गठबन्धनको सहमतिमा बीआरआईमा प्रधानमन्त्रीको समर्थन : कार्यवहाक प्रधानमन्त्री खड्का

सुर्खेत । कार्यबहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताएका छन् । उनले संघीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको बताउँदै निजामति कर्मचारी ऐन र संघीय प्रहरी ऐन संसदमा दर्ता गर्ने तयारी सरकार रहेको बताए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्न सरकार दृढ भएर लागिपरहेको छ,’ बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कार्यबहाक प्रधानमन्त्री खड्काले भने, ‘संघीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको छ, सम्वन्धीत मन्त्रालयले निजामति र प्रहरी ऐन तयारी गरेर संसदमा दर्ता गर्ने तयारी गरिरहेका छन् ।’ उनले संघीय सरकारले कानुन नबनाउँदा संघीयताको अनुभूति नागरिकले प्रत्यक्ष गर्न नसेको बताउँदै वर्तमान सरकार संघीयता कार्यान्वयनमा प्रतिवद्ध रहेको बताए ।
कार्यबहाक प्रधानमन्त्री खड्काले सुशासन, विकास निर्माण र देशको समृद्धिका लागि सरकारले देखिने गरेर काम गरिरहेको बताए । उनले केही दिनभित्रै सुशासन सम्वन्धी कार्यक्रम घोषणा गर्न लागिएको जानकारी दिए ।
कार्यवाहक प्रधानमन्त्री खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण सफल भएको बताए । उनले बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआईसत्ता गठबन्धन दलको सहमतिमै प्रधानमन्त्रीले सहमति जनाएको बताए ।
‘चीनसँग भएका सहमति र संझौताहरु देश हितमा छन्, खड्काले भन्नुभयो, ‘गठबन्धनको सहमतिका यि सबै सहमति प्रधानमन्त्रीले गर्नु भएको हो ।’ उहाँले विकास–निर्माणका सन्दर्भमा देखिएका कानुनी अड्चनहरुलाई हटाउन केही नेपाल ऐन संशोधनको प्रक्रिया अघि बढेको बताए । ‘सडकलगायतका पूर्वाधार बनाउन बनको जग्गा उपभोगमा ठूलो समस्या देखिएको छ,’ उनले भने, ‘त्यसलाई हटाउनका लागि केही नेपाल ऐन संशोधनलाई संशोधन गर्ने प्रक्रिया अघि बढाएका छौं ।’
रक्षामन्त्री खड्काले सुर्खेत विमानस्थल विस्तारमा सबैको साथ र सहयोग हुन आवश्यक रहेको बताए । प्रभावित क्षेत्रका जनतालाई साथमा लिएर विमानस्थल विस्तार गर्नुपर्ने उनको भनाई छ । ‘अहिलेको विमानस्थल बढीमा चार सय मिटर विस्तार गर्न मिल्छ, भविश्यका लागि यो विमानस्थलले भार थेग्न सक्दैन्,’ उनले भने, ‘अहिलेलाई सुर्खेत विमानस्थल विस्तार गर्दै रामघाटमा भविश्यका लागि ठूलो विमानस्थल निर्माण गर्नु आवश्यक छ ।’