इन्द्रजात्रा औपचारिक रूपमा सुरु

काठमाडौँ । काठमाडौँ उपत्यकामा मनाइने मुख्य पर्व इन्द्रजात्रा आजबाट सुरु भएको छ ।
भाद्र शुक्ल पक्ष अर्थात् यँलाथ्व द्वादशीका दिन वसन्तपुरको हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि इन्द्रजात्रा प्रारम्भ भएको हो ।
नेवारी समुदायले यो पर्वमा वर्षा र सहकालको देवताको रूपमा इन्द्रको पूजा आराधना गर्दछन् । आठ दिनसम्म विभिन्न नाचगान, रथयात्रा गरी यो पर्व मनाइन्छ ।
यही असोज ११ गते इन्द्रजात्राको मुख्य दिन काठमाडौँ उपत्यकामा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।
जात्राको अवधि भर भक्कु नाच, महाकाली नाच, लाखे नाच, दश अवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।
इन्द्रजात्रामा राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले श्रीगणेश, श्री भैरव र श्रीकुमारीको दर्शन गर्ने परम्परा छ ।
जात्रा सञ्चालन तथा व्यवस्थापनका लागि इन्द्र जात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा महानगरपालिकाले सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलाप सञ्चालन, प्रवर्द्धनको काम गरिरहेको छ ।
