राष्ट्रकविको जन्मथलोबाट तेस्रो पुस्ताको साहित्यिक कोसेली, २५ वर्षे इन्जिनियर प्रमिशाले ल्याइन ‘प्रेरणा’
बाहुनडाँडा,लमजुङ/ राष्ट्रकवि माधव प्रसाद घिमिरेको जन्मथलो लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ बाहुनडाँडाबाट तेस्रो पुस्ता पनि साहित्यमा औपचारिक रूपमा प्रवेश गरेको छ।
२५ बर्सिया इन्जिनियर प्रमिशा घिमिरेले आफ्नो पहिलो कृति ‘प्रेरणा’ प्रकाशित गरेकी छिन्।
राष्ट्रकविको १०४ औँ जन्मजयन्तीको अवसर पारेर आइतबार प्रेरणाको विमोचन गरिएको छ। राष्ट्रकविको जन्मथलोमा उनैले स्थापना गरेको चन्द्रोदय माध्यमिक विद्यालयको प्राङ्गणमा ‘प्रेरणा’ विमोचन गरिएको हो।
घिमिरे समाज बाहुनडाँडाले यो अवसर जुराएको हो। ‘जहाँ बाट मैले एस.एल.सी सम्मको अध्ययन गरेकी थिए, सोही विद्यालयमा साथै आजको यस पावन अवसरमा मेरो पहिलो उपन्यास ‘प्रेरणा’ विमोचन गर्ने अवसर जुराइदिनु भएकोमा घिमिरे समाज बाहुनडाँडा र चन्द्रोदय मा.वि.लाई धन्यवाद ज्ञापन गर्न चाहन्छु।’ लेखिका प्रमिशाले भनेकी छन्।
बाहुनडाँडामा जन्मिएर हाल चितवनमा बस्दै आएका इन्जिनियर तथा साहित्यकार डा. हेमनाथ घिमिरेले प्रेरणाको विमोचन गरेका हुन्। हेमनाथ बाहेक चन्द्रोदयका पूर्व प्राध्यापक रामचन्द्र न्यौपाने ‘वनवासी’ राष्ट्रकवि जन्मथलोमा दोस्रो पुस्ताका क्रियाशील साहित्यकार हुन्।
‘मैले चार पाँच वटा कविताका पुस्तकहरू प्रकाशित गरेको छु तैपनि अझै उपन्यास लेख्नका लागि सकस लागि रहेको छ। सानो तिनो सोचाइ र दक्षता नभई उपन्यास जस्तो बृहत् पुस्तक लेख्न सकिँदैन ।’ प्रेरणाको विमोचन पछि प्रमुख अतिथि डा. हेमनाथले भने, ‘प्रेरणाको उपन्यास मैले सरसर्ति हेरे उनले पहिलो पटक लेखेको जस्तो लागेन । एउटा सिद्धहस्त, परिपक्व व्यक्तित्व जस्तो लाग्यो ।’
उनले वर्तमान परिवेशमा प्रविधि र पारिवारिक कारणले कलेज पढ्ने विद्यार्थीहरूलाई मनस्थिति कस्तो असर पार्छ भन्ने विषयलाई उपन्यासले समेटेको बताए।
उपन्यासकार प्रमिशाका अनुसार ‘प्रेरणा’ वास्तविक जीवन कथामा आधारित प्रेममा असफलता पछिको सफलताको कथालाई समेटिएको छ।
‘यो उपन्यास युवा मनोविज्ञान, प्रेम र प्रेम प्राप्ति बारे उनीहरूको धारणामा आधारित छ।’ उनले भनिन्’ ‘सामाजिक सञ्जालको प्रयोग, थ्रेड र ब्ल्याकमेलिङको नकारात्मक प्रभाव, त्यसको असर युवा जीवनमा कसरी परेको छ भनेर देखाएको छु।’
फुटकर कविता लेख्दै आएकी प्रमिशा कोभिड महामारीले आफूलाई उपन्यास लेख्न तर्फ धकेलेको बत्ताउँछिन्।
‘रुचि सानै देखि थियो तर कोरोना अगाडि कमल चलाएकी थिइन्’ प्रमिशा भनिन्,’ पढाइ रोकिएको थियो,इन्जिनियरिङको सातौँ सेमेस्टरमा अध्ययनरत म, बिदाको समयमा पढ्ने त कुन चराको नाम जस्तो लाग्थ्यो। हरेक दिन केही न केही लेखिरहेको हुन्थे।’
उनले दोस्रो लकडाउनले उपन्यास नै जन्मिएको बताइन्। प्रमिषाले चिरञ्जीवी ढुङ्गानाबाट उपन्यासको विषय बस्तु पाएको बताइन।
‘उपन्यासको विषयवस्तु दाई बाट नै आएको हो। सत्य घटनामा आधारित भएकाले मलाई पनि लेख्ने रुचि बढ्दै गयो। बिहान देखि बेलुका सम्मको साथी कोरा कागज र कलम बनेको थियो। उपन्यास लेख्न मन भएको कुरा घरमा सुनाउँदा ममी बुबाले पनि थप हौसला प्रदान गर्नु भयो।’ उनले भनिन।
प्रमिशाका बुबा दिननाथ र आमा कल्पना शिक्षण पेसामा छन्। उनी तीन दिदीबहिनी मध्ये जेठी छोरी हुन्।
प्रेरणाको बजार मूल्य दुई सय ७५ रुपैयाँ राखिएको छ।