माल्टा पठाउने भन्दै ठगी गरेका बडु प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरीले माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ गरेको छ । बैतडीको दशरथचन्द नगरपालिका घर भई हाल ललितपुरको भैसिपाटी बस्ने ३५ वर्षीय रमेश बडुलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ ।
बडुले कुम्भराज जोशीसहित पाँच जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु, त्यसको लागि प्रतिव्यक्ती ७ लाख ५० हजार रुपैयाँ लाग्छ, त्यहाँ पुगेपछी होटेलमा काम लगाइदिन्छु र मासिक १ लाख ५० हजारभन्दा धेरै तलब हुन्छ भनेर प्रलोभनमा पारेर ठगी गरेको प्रहरीले जनाएको छ।
पीडितहरूबाट पटक पटक गरी १३ लाख १५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएकाले उनलाई पक्राउ गरिदिन वैदेशिक रोजगार विभागले पत्रचार गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।